इन्डियन प्रिमियर लिग (आईपीएल)को साबिक उपविजेता हो सनराइजर्स हैदरावाद। तर अघिल्लो सिजन फाइनल खेलेको हैदरावाद यो सिजन प्लेअफबाटै बाहिरिसकेको छ।
यसले उसका समर्थकलाई निराश बनाएको छ। सिजनको सुरुवातमा राजस्थान रोयल्सविरुद्ध ६ विकेट गुमाएर २ सय ८६ रन बनाउँदा धेरैले ‘पुरानै हैदरावाद’को छनक देखेका थिए। टोलीले समर्थकबाट प्रशंसा पनि पाएको थियो।
जसै सिजन अघि बढ्दै गयो, टोलीको प्रदर्शन फितलिँदै गयो।
हैदरावादको बलिङ र ब्याटिङ लाइन धरापमा पर्दै जाँदा टोलीको रणनीतिले पनि काम गरेन। अन्ततः साविक उपविजेता टोलीको प्लेअफ दौड समाप्त भयो।
लिगको ११ खेलमध्ये ३ मा जित हात पारेको हैदरावादले ७ वटामा हार र १ खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेको छ। तालिकामा उसको ७ अंक मात्र छ।
आईपीएलमा उपविजेताको छविलाई भुलाउने प्रदर्शन गरेको सनराइजर्स जारी सिजनमा कसरी पतन भयो त? यसका ५ कारण यस्ता छन्—
शीर्ष क्रमको ब्याटिङ लाइन एकसाथ खराब
अभिषेक शर्मा, ट्राभिस हेड, ईशान किसन, नितिश रेड्डी र हेनरिक क्लासेनजस्ता ब्याटरले भरिएको हैदरावादको टप अर्डर पेपरमा निकै बलियो देखिएको थियो।
यी पाँच खेलाडी आईपीएलमा आउनुअघि उच्च फर्ममा थिए। जसले अघिल्लो सिजन पनि धमाका मच्चाएका थिए। तर यो पटक भने सबैको प्रदर्शन एकै पटक खराब हुन पुग्यो।
शीर्ष क्रमका यी ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। सुरुवातको एक÷दुई खेलपछि मैदानमा यी खेलाडीले कुनै जादु देखाउन सकेनन्।
आईपीएलजस्तो प्रतियोगितामा टप अर्डर पतन हुनु भनेकै अन्ततः हारको कारण बन्नु हो। यो सिजनमा टोलीको यही अवस्था देखियो।
मैदानमा फिक्का ‘बलियो बलिङ लाइनअप’
आईपीएलको मेगा अक्सनमा हैदरावादले मोहम्मद सामी, हर्षल पटेल र आदम जम्पाजस्ता अनुभवी र विकेट झार्नसक्ने खेलाडीलाई टोलीमा समावेश गरेको थियो।
तर कागजमा बलियो देखिएको बलिङ अट्याकिङ लाइन पिचमा उस्तै देखिएन। मैदानमा उल्टो हुन पुग्यो।
आदम जम्पा सुरुवातमा नै घाइते हुन पुगे र धेरै खेल खेल्नै सकेनन्। चोटबाट पुनरागमन गरेका मोहम्मद सामी पनि लयमा फर्किन सकेनन्। हर्षल पटेलको डेथ ओभरको प्रदर्शन पनि टोलीका लागि प्रभावकारी देखिएन।
समग्रमा भन्ने हो भने टोलीका बलरले सुरुवातमा विकेट दिलाउन त सकेनन् नै, अन्तिम ओभरमा पनि रन रोक्न नसक्दा हैदरावादको हारको कारण बन्न पुग्यो।
आक्रामक ब्याटिङले काम गरेन
हैदरावादले यो सिजनअघि अघिल्लो सिजनझैँ आक्रामक ब्याटिङको रणनीति बुनेको थियो।
प्रशिक्षक ड्यानियल विट्टोरीले ट्राभिस हेड र अभिषेक शर्मालाई खेल जित्न हदसम्मको उपाय अपनाउन र बाँकी खेलाडीलाई अवस्था हेरेर खेल्ने सल्लाह दिएका थिए।
यसका बाबजुद ब्याटरहरु स्लो पिच र बलरले राम्रो बल दिन नसक्दा आफ्नो हिटिङ शैलीबाट पछि हट्न सकेनन्। जसको कारण पावर प्ले होस् वा मिडल ओभरमा विकेट गुमाउन पुगे। यो रणनीतिले काम गर्दा टोलीको प्रदर्शन उच्च हुने थियो।
तर जब छिटो विकेट जान्छ तब आक्रमण धराशायी हुन्छ। हैदरावादको हकमा यस्तै भयो।
पिच बुझेनन्, घरेलु मैदानको साथ पाएनन्
पिचमा त्यो टोलीले राम्रो प्रदर्शन गर्न सक्छ जसले पिचको अवस्था बुझेर ब्याटिङ गर्छ। जारी सिजन टोलीका लागि अवस्था उल्टो बन्यो।
यो सिजन धेरैजसो मैदानमा हैदरावादले स्लो पिचमा खेल्नुपर्यो। अन्य टोलीले पिच यस्तो तयार पारे कि हैदरावाद टोलीलाई खेल्न गाह्रो बनाइदियो।
यो त छँदै थियो, आफ्नै घरेलु मैदानले समेत साथ दिएन। यो पटक टोलीका लागि घरेलु पिच समेत हाइ स्कोरिङ हुन सकेन।
टोलीका प्रशिक्षकले समेत यो पटक घरेलु मैदानले समेत साथ नदिएको बताएका थिए।
ब्याकअप रणनीतिको अभाव
यो सिजन कागजी रुपमा बलियो देखिएको हैदरावादको प्रदर्शन मैदानमा फितलो रह्यो।
सिजनको सुरुवातसँगै खेलाडी घाइते हुँदै फर्मबाट बाहिरिँदा टोलीको ‘प्लान बी’ देख्न पाइएन। विशेषगरी आदम जम्पा घाइते भएपछि टोलीको स्पिन अट्याक संकटमा देखियो।
मध्यक्रममा जब रनका लागि ब्याटर संघर्ष गरिरहेका थिए तब टोलीसँग अनुभवी खेलाडी थिएनन्। यस्तो बेला टोलीसँगै इनिङलाई सम्हाल्ने विशेष रणनीति पनि देखिएन।
यही कारण साविक उपविजेता भए पनि सनराइजर्स हैदरावाद प्लेअफको दौडबाट चाँडै बाहिरियो।
Shares

प्रतिक्रिया