खेल


हङकङमाथि रवाफिलो जितपछि यु–१९ विश्वकपमा पुग्न नेपाल एक जित टाढा

हङकङमाथि रवाफिलो जितपछि यु–१९ विश्वकपमा पुग्न नेपाल एक जित टाढा

नेपालखबर
बैशाख ३, २०८२ बुधबार २०:४१, काठमाडौँ

नेपालले घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकाल्दै विजेता बन्ने बलियो दाबेदारी प्रस्तुत गरेको छ।

मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले बुधबार हङकङमाथि ९ विकेटको रवाफिलो जितसँगै जारी विश्वकप एसिया छनोटमा बलियो दाबेदारी प्रस्तुत गरेको हो।

टेस्ट राष्ट्र अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा यु–१९ विश्वकपमा स्थान बनाउनेछ।

लिगमा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। हालसम्म अंकतालिकामा अफगानिस्तान र नेपालले बलिया दाबेदार हुन्। यी दुईबीच आगामी शनिबार लिगको अन्तिम खेलमा प्रतिष्पर्धा हुनेछ। त्यसले नै विश्वकप खेल्ने टोलीको टुङ्गो लाग्नेछ।

तीन खेलबाट नेपाल ६ अंक बटुल्दै शीर्षमा छ। दुई खेल जितिसकेको अफगानिस्तानले पनि बुधबार तेस्रो खेलमा युएईविरुद्ध खेलिरहेको छ।

अफगानिस्तानले ३६० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। विशाल लक्ष्य पछ्याएको युएई ९५-४ को अवस्थामा छ। त्यसैले यो खेलमा पनि बलियो टोली युएई जितनजिक पुगेको मान्न सकिन्छ।

यस्तो अवस्थामा अब उपाधिका दाबेदार अफगानिस्तान र नेपाल नै हुन्। जुन निर्णय शनिबार हुने खेलले टुङ्गो लगाउनेछ। नेपालले पनि हङकङमाथि सहजै नतिजा आफ्नो पक्षमा पार्दै तेस्रो जित निकालेको हो। हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपालले १२.३ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य भेटायो। 

नेपालका ओपनरद्वय साहिल पटेल र नीरजकुमार यादवले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै सहज सुरुआत गरे। नीरजकुमार २३ रनमा आउट भए। उनको इनिङमा चार चौका रह्यो। तर, साहिल भने ४२ रनमा अविजित रहे। उनले ४१ बलमा आठ चौका हिर्काए।

कप्तान नरेन भट्ट पनि ३९ रनमा अविजित रहँदै साहिललाई साथ दिए। नरेनले २३ बलमा आठ चौका हिर्काए। नरेन र साहिलबीच दोस्रो विकेटका लागि ६३ रनको अविजित साझेदारी भयो। हङकङको बलिङमा एक मात्र विकेट सायन पुरीले लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा ११५ रनको सामान्य योगफलमा नै अलआउट हुन पुग्यो। हङकङका कप्तान शिव माथुरले ६३ रनको अर्धशतकीय इनिङ बनाए। 

दोस्रो ओभरमा नै ओपनर जुड ली थोमसलाई शून्यमै गुमाएपछि हङकङले खराब सुरुवात गर्‍यो। त्यसपछि आएका माथुरले इनिङ समाले। उनले अर्का ओपनर आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गरे।

आर्या पनि १० रनमा नै आउट भए। चार रनको अन्तरमा हङकङले तीन विकेट गुमायो। आर्यासँगै अब्दुल समाद १ रन र प्रीत किशोर कुमार शून्यमा नै आउट भए।

यससँगै हङकङ २७.५ ओभरमा ६४-४ को अवस्थामा पुग्यो। त्यसपछि शिवले पाँचौँ विकेटका लागि ह्यारी थोमससँग २६ रनको साझेदारी गरे। थोमस पनि १० रन जोडेर आउट भए। त्यसपछि शिव पनि छैटौं विकेटका रूपमा पेभेलियन फर्किए। शिवले ११६ बलमा चार चौका र एक छक्का हिर्काए।

उनी आउट हुँदा हङकङ ४१.१ ओभरमा १०७-६ को अवस्थामा थियो। त्यसपछि खातामा थप ८ रन जोड्दा हङकङले चार विकेट नै गुमाउन पुग्यो।

नेपालको बलिङमा युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिँदै हङकङको इनिङ सस्तैमा रोके। यससँगै हङकङले दोस्रो हार सामना गर्‍यो।

यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डीएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो।

लगातार दोस्रो हार बेहोरेको हङकङ अंकविहीन छ। हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad