विश्व क्रिकेटमा अहिले सबैको ध्यान इन्डियन प्रिमियर लिग (आईपीएल)ले तानिरहेको छ।
आईपीएलमा सहभागी १० टोलीले लिग चरणको पहिलो खेल खेलिसकेका छन्। दोस्रो राउन्डको पहिलो खेलमा राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स एक आपसमा भिडे।
राजस्थानको कप्तानी रियान परागले सम्हाले। लगातार दोस्रो खेलमा कप्तानी सम्हालेका पराग जारी सिजको सबैभन्दा कान्छा कप्तान हुन्।
पहिलो खेलमा सनराइजर्स हैदरावादविरुद्ध ४ रन बनाएका परागले कोलकाताविरुद्ध २५ रन बनाउँदै पेभेलियन फर्के। आईपीएलमा कम उमेरमा कप्तानी गर्ने उनी पाँचौँ खेलाडी बनेका छन्।
आईपीएल इतिहासमा अहिलेसम्म सबैभन्दा कम उमेरमा कप्तानी गरेका पाँच खेलाडीको चर्चा यहाँ गरिएको छ।

विराट कोहली
विराट कोहलीले सन् २०११ मा रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तानी सम्हालेका थिए। सन् २०१३ बाट पूरा समयका लागि कप्तान बनेका विराटले त्यसको २ वर्ष अघि नै टोलीको नेतृत्व गरिसकेका थिए। २२ वर्ष १ सय ८७ दिनका विराटले टोलीको कमान्ड सम्हाल्दै कान्छा कप्तानको परिचय बनाएका थिए।
डानियल भिटोरी घुँडाको समस्याको कारण टोलीबाट बाहिरिएपछि टोलीको कप्तानी जिम्मेवारी विराटको काँधमा आएको थियो। उनको कप्तानीमा आरसीबीले आईपीएलमा १ सय ४३ खेल खेलेको थियो। तर पछि उनले बेंग्लुरु र राष्ट्रिय टोलीको पनि कप्तानीको जिम्मेवारीबाट अलग भएका छन्।
विराट कोहली इन्डियन प्रिमियर लिग (आईपीएल) मा एउटै टोलीबाट सबै सिजन खेल्ने एक मात्र खेलाडी हुन्। उनले सुरुदेखि हालसम्म रोयल च्यालेन्जर्स बैंगलुरुबाट खलिरहेका छन्।
सन् २००८ को यु–१९ विश्वकपमा भारतलाई जित दिलाएपछि आरसीबीले उनलाई अनुबन्ध गरेको थियो। त्यसबेलादेखि नै बेंगलुरुले विराटलाई क्लबमा कायम राखेको छ।
कोहली आईपीएलको सर्वाधिक रन बनाउने (८००० भन्दा बढी रन) बनाउने एक मात्र खेलाडी हुन्।
उनको नाममा धेरै आईपीएल शतक (८) र एक सिजनमा धेरै रन (२०१६ मा ९७३ रन) को रेकर्ड छ। उनले २०१६ र २०२४ मा दुई पटक क्याप जितेका छन्।
कोहलीले २०१३ देखि २०२१ सम्म आरसीबीको पूर्ण–समय कप्तानी गरे । २०१६ मा फाइनलमा पुगे पनि सनराइजर्स हैदराबादसँग हारेपछि उपाधिविहीन बनेको थियो। आरसीबीले हालसम्म पनि उपाधि जित्न सकेको छैन।
कोहलीले एबी डिभिलियर्स ३१२३ रन र क्रिस गेलसँग २७८७ रन बनाउँदै आईपीएलमा सबैभन्दा धेरै साझेदारीको रेकर्ड राखेका छन्।
विराटकै लोकप्रियताका कारण आरसीबी आईपीएलमा सबैभन्दा धेरै फलोअर गरिएको टोलीहरू मध्ये एक बनाएको छ। यद्यपि उनीहरूले अहिलेसम्म उपाधि भने जितेका छैनन्।

स्टिभन स्मिथ
स्टिभन स्मिथले सन् २०१२ मा पुने वारियर्सको कप्तानी सम्हालेका थिए। टोलीको कप्तानी सम्हाल्नु अघि नै उनले आफुलाई अब्बल ब्याटरको रुपमा स्थापित गरिसकेका थिए। सन् २०१२ मा आरसीबीविरुद्ध कप्तानका रुपमा डेब्यु गर्दा स्टिभन २२ वर्ष ३ सय ४४ दिनका थिए।
सन् २०१२ मा आईपीएलमा डेब्यू गरेकै वर्ष स्टिभन स्मिथले राम्रो प्रभाव पारे। त्यतिबेला उनी अस्ट्रेलियाली क्रिकेट टोलीको नियमित सदस्य थिएनन्। एक मध्यम क्रमका ब्याट्सम्यानको रूपमा चिनिन्थे। अलि अलि लेग–स्पिन बलिङ गर्थे।
पुणे वारियर्समा उनले त्यो सिजन एउटा पनि अर्धसतक प्रहार गर्न सकेनन्। तर उनले राम्रो स्ट्राइक रेटमा ३५० भन्दा बढी रन बनाए। तर २०१३ को सिजन निराशाजनक बित्यो। पुणेमा उनको सम्झौता पनि सकिएपछि २०१४ मा स्मिथलाई राजस्थान रोयल्सले अनुबन्ध गरेको थियो।
राजस्थानमा पनि पहिलो सिजन राम्रो भयो। अन्तिममा ब्याटिङ गर्ने उनले ठूलो स्कोर त बनाउन पाएनन् तर टोलीको फिनिशरको रुपमा छाप छाडे।
२०१६ मा राइजिङ पुणे सुपरजायन्टका लागि उनले आफ्नो पहिलो आईपीएल शतक बनाए। चोटले त्यो वर्ष उनको प्रदर्शन छोटो समयमै रोकियो। तर २०१७ मा उनले कप्तानको रूपमा बलियो पुनरागमन गरे र टोलीलाई फाइनलमा पुर्याए।
मार्च २०१८ मा क्रिकेट अष्ट्रेलियाले बल टेम्परिङको आरोपमा उनलाई प्रतिबन्ध लगायो जस कारण उनले आईपीएल पनि गुमाए। राजस्थान रोयल्सका लागि २०१९ को मध्यम सिजनमा उनले पुनरागमन गरे। सुरुमा कप्तानीको जिम्मेवारी नपाएका उनलाई पछि राजस्थानले कप्तानी पनि सुम्पिएको थियो।

सुरेश रैना
चेन्नई सुपर किंग्सका लागि सुरेश रैनाले सन् २०१० मा कप्तानका रुपमा डेब्यु गरेका थिए। उनले टोलीको नेतृत्व सम्हाल्दा २३ वर्ष १ सय १२ दिनका थिए। दिल्ली क्यापिटल्स (दिल्ली डेयर डेभिल्स) विरुद्ध कप्तानको रुपमा डेब्यु खेल खेले। कप्तानी सम्हालेको खेलमा रैना ४९ रनमा अविजित रहे। उनले कप्तानी सम्हालेपछि चेन्नईले त्यसपछिका दुई खेल लगातार गुमायो।
रैना पछिल्ला आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। उनले आईपीएल १२ पछि ४९८५ रन बनाएका छन्। उनले आईपीएलमा सबैभन्दा धेरै रन किंग्स ११ पञ्जावविरुद्ध बनाएका छन्। सन् २०१३३ मा उनले चेन्नईमा भएको खेलमा नटआउट सतक प्रहार गरेका थिए।
तर उनले २०१५ को क्वालिफायर २ मा किंग्स ११ पञ्जावविरुद्ध २५ बलमा ८७ रन प्रहार गरेका थिए। यो उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो।
रैनाले दायाँ हाते अफ स्पिन बलिङ गर्ने भए पनि पछिल्लो समय बलिङ गरिरहेका छैनन्।
२०१५ सिजनपछि रैनाले अस्थायी फ्रान्चाइज गुजरात लायन्सको पनि कप्तानी गरे। रैना आईपीएलमा दुई सिजनबाहेक हरेक सिजनमा ४०० भन्दा बढी रन बनाइरहेका छन्।

रियान पराग
राजस्थान रोयल्सका रियान पराग जारी सिजनको सबैभन्दा कान्छा कप्तान हुन्। सनराइजर्स हैदरावादविरुद्ध खेल्दै उनले कप्तानको रुपमा टोलीमा डेब्यु गरेका थिए। २३ वर्ष १ सय ३३ दिनको हुँदा परागले राजस्थानको कप्तानी जिम्मेवारी लिएका थिए। सञ्जु सामसमको हातको औलामा चोट लागेपछि टोलीको नेतृत्व गर्ने मौका परागले पाए।
१६ वर्षको उमेरमै उनी विश्वकप पदक विजेता भइसकेका थिए। २०१८ मा यु–१० विश्वकप भारतले जित्दा रियानले महत्वपूर्ण भूमिका खेलेका थिए। उनका बुबा पराग दासले असमको प्रतिनिधित्व गर्दै क्रिकेट खेलेका थिए। उनकी आमा मिथु बरुआ पनि अन्तर्राष्ट्रिय पौडी खेलाडी थिइन्।
रियानले भने क्रिकेट नै रोजे। जनवरी, २०१७ मा असमको लागि टी–२० डेब्यू गरेपछि रियान न्युजिल्यान्डमा भएको २०१८ को यू–१९ विश्वकपको लागि भारतीय टोलीमा समावेश भएका थिए।
सुरुवात सहज भए पनि सिनियर टोलीका लागि भने उनले ठूलै संघर्ष गर्न परेकोक छ।
आईपीएलमा उनले २०२४ सिजनमा ५७३ रन बनाए। जसले गर्दा उनी सिजनको तेस्रो सर्वाधिक रन बनाउने खेलाडी बने। यसपछि उनलाई राष्ट्रिय टोलीमा पनि डाकियो।
रियान परागले २०२४ मा जिम्बाब्वे र श्रीलंका भ्रमणको क्रममा टी–२० र ५० ओभर खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरे।

श्रेयस अय्यर
दिल्ली डेयर डेभिल्सका कप्तान श्रेयस अय्यरले सन् २०१८ मा पहिलो पटक टोलीको कप्तानी सम्हालेका थिए। २३ वर्ष १ सय ४२ दिनको उमेरमा ऐरले कोलकता नाइट राइडर्सविरुद्ध टोलीको कप्तानी गरेका थिए।
सन् २०१८ मा गौतम गम्भीरले दिल्लीको कप्तानी छाडेपछि ऐरलाई जिम्मेवारी सुम्पिएको थियो। सन् २०२१ मा कोलकाता नाइट राइडर्सको कप्तान बन्नु अघिसम्म ऐरले दिल्लीको कप्तानी गरेका थिए।
२०१५ मा सुरुवाती मूल्य १० लाख रहेका उनी यो क्याटेगोरीबाट सबैभन्दा धेरै कमाउने खेलाडी बनेका थिए। उनलाई २.६ करोडमा दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको थियो। उनले त्यही सिजन दिल्लीलाई निराश बनाएनन्। त्यो सिजन उनले ४३९ रन बनाएपछि इमर्जिङ प्लेयर अवार्ड पाएका थिए।
तर २०१६ को सिजन अय्यरको लागि एकदमै खराब रह्यो। किनकि उनले दिल्लीबाट ६ खेलमा ब्याटिङ गर्दा मात्रै ३० रन बनाए। मुम्बईका अय्यरले २०१७ को सिजनमा आफ्नो लय फर्काए। ९६ रनको उच्च स्कोरका साथ ३३६ रन बनाउन सफल भए। र २०१८ को सिजनमा दिल्लीका कप्तान गौतम गम्भीर टोलीबाट बाहिरिएपछि कप्तान बने।
हाल उनी पञ्जाब किंग्सको कप्तानी गर्छन्। उनी २०२५ को आईसीसी च्याम्पियन्स ट्रफी जित्ने भारतीय टोलीको सदस्य पनि हुन्।
अय्यरले नोभेम्बर २०२१ मा न्युजिल्यान्डविरुद्धको आफ्नो डेब्यू टेस्ट खेलमा शतक र दोस्रो इनिङमा अर्धशतक बनाए। यो उपलब्धि हासिल गर्ने अय्यर पहिलो भारतीय खेलाडी हुन्।
उनले २०१४ को यू–१९ विश्वकप क्रिकेट खेलेका उनी २०२३ को विश्वकप क्रिकेटमा भारतीय टोलीको सदस्य थिए। उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक बनाए। उनी २०२३ को एसिया कप जित्ने भारतीय टोलीको सदस्य पनि हुन्।
अय्यरले २०२२ देखि २०२४ सम्म आईपीएलमा कोलकाता नाइट राइडर्सको कप्तानी गरे र २०२४ मा आफ्नै कप्तानीमा पहिलो आईपीएल उपाधि जिते।
यो सिजन पञ्जाब किंग्सले उनलाई २६.७५ करोडमा किनेपछि आईपीएलमा सबैभन्दा महँगो खेलाडीको रेकर्ड तोडेका थिए। तर लगत्तै लखनऊ सुपर जायन्ट्सले २७ करोडमा ऋषभ पन्तलाई किन्दा त्यो रेकर्ड तोडिएको थियो।
Shares

प्रतिक्रिया