यो खेलअघि नै फिफा विश्वकप-२०२६ मा छनोट भएको अर्जेन्टिना ब्राजिलमाथि हावी भएको छ। घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले सहजै हरायो।
अर्जेन्टिनाको जितमा गिउलियानो सिमियोन, जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर र एन्जो फर्नान्डेसले गोल गरे। ब्राजिलका लागि म्याथ्युस कुन्हाले एक गोल फर्काए।
अर्जेन्टिना दक्षिण अमेरिकी छनोट तालिकाको शीर्ष स्थानमा छ भने हारपछि ब्राजिल चौथो स्थानमा झरेको छ। बोलिभियाले उरुग्वेसँग बराबरी खेलेपछि अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको थियो। यद्यपि, ब्राजिलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न अझै संघर्ष गर्न पर्नेछ।
विश्वकप छनोटमा ब्राजिलको मैदानमा भएको खेलमा १–० को कठिन जित हासिल गरेको अर्जेन्टिनाले आफ्नो मैदानमा भने ब्राजिललाई ऐतिहासिक झट्का दियो।
अर्जेन्टिनाले खेलभर नै प्रभुत्व जमाएर शानदार जित हासिल गर्यो।

जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र गिउलियानो सिमियोनले गोल गर्दै आफ्नो आक्रमणकारी शक्ति प्रदर्शन गरे, जसले पाहुना टोली ब्राजिललाई स्तब्ध बनायो।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेज चौथो मिनेटमै अग्रता दिलाएका थिए।
एन्जो फर्नान्डेज १२, एलेक्सिस म्याक एलिस्टर ३७, गिउलियानो सिमियोन ७१औँ मिनेटमा गाल गरे। ब्राजिलका लागि म्याथ्यूस कुन्हाले २६औँ मिनेटमा गोल गरे।
खेलपछि अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पलले भने, ‘टोलीले धेरै राम्रो प्रदर्शन गर्यो। आशा छ- हामी खेलाडी र सबै फ्यानले हाम्रो पुरानो प्रतिद्वन्द्वीविरुद्धको यो खेललाई कदर गर्नेछौँ। हामी विश्वकपका लागि पहिले नै योग्य छौँ, तर अझै पनि छनोट खेल खेल्न बाँकी छन्। हामी सधैँ उस्तै तरिकाले खेल्छौँ, हामीले जसको सामना गरे पनि।’
ब्राजिलियन डिफेन्डर मार्किन्होसले यो पीडादायी हार भएको बताए।
‘यो खेलको बारेमा कुरा गर्न गाह्रो छ। यो अफसोसजनक छ। यस्तो डर्बीमा र उनीहरूको घरमा धेरै पीडादायी हार हो। हामीले खेल धेरै नराम्रोसँग सुरु गर्यौँ। हामीले आफ्नो स्तरभन्दा धेरै कमजोर खेल्यौँ। तिनीहरू (अर्जेन्टिना) आत्मविश्वासी थिए। तिनीहरूलाई बुद्धिमानीपूर्वक कसरी खेल्ने भनेर थाहा थियो। यो नतिजा आउनुमा केवल प्रशिक्षकको गल्ती होइन। यो खेलाडीहरूको पनि गल्ती हो। हामीले यहाँ जे गर्यौँ, त्यो फेरि हुन सक्दैन’, मार्किन्होसले भने।
विश्वकप छनोटकै बाँकी ६ टोलीले बराबरी खेले। कोलम्बिया र पाराग्वेले २–२ को बराबरी खेल्दा चिले र इक्वेडरले गोलरहित खेले। बोलिभियाले पनि उरुग्वेलाई गोलरहित बराबरीमै राक्यो। भेनेजुयलाले पेरुलाई १–० ले पराजित गर्यो।
यो नतिजापछि दक्षिण अमेरिकी छनोटमा समान १४ खेलबाट अर्जेन्टिना ३१ अंकसहित शीर्षस्थनामा रहँदा इक्वेडर २३ अंकसहित दोस्रो स्थानमा छ। उरुग्वे, ब्राजिल र पाराग्वेको समान २१ अंक छ। गोलअन्तरका आधारमा उरुग्वे तेस्रो, ब्राजिल चौथो र पाराग्वे पाँचौँ स्थानमा छ।
कोलम्बिया २० अंकसहित छैटौँ, भेनेजुयला १५ अंकसहित सातौँ, बोलिभिया १४ अंकसहित आठौँ स्थानमा रहँदा समान १० अंक भएका पेरु नवौँ र चिले दसौँ स्थानमा छन्।
Shares

प्रतिक्रिया