भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कोसी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जारी प्रतियोगितामा मधेसको यो पहिलो जित हो भने कोशीको यो दोस्रो हार हो।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो। दुई सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेशको पारी ३३ ओभरमा ११९ रनमा समेटियो।
मधेस प्रदेशका लागि कप्तान अनिल साह, पवन सर्राफ र दीपेश दासले उत्कृष्ट खेल प्रदर्शन गरे। तीनै जनाले अद्र्धशतकीय पारी खेले। अनिलले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रन बनाए।
यस्तै पवनले ८५ बलको सामना गर्दै दुई छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए। दीपेशले ६० बल खेल्दै एक छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान दिए। हरिशङ्कर साहले २९ रन बनाए।
यसैगरी कोशीका लागि ब्याटिङ गर्ने क्रममा साकिब हकले २५, सुजन थपलियले २४, फिर्दोश अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए। बलिङतर्फ मधेस प्रदेशका रुपेश सिंह एक्लैले ५ विकेट लिए।
यस्तै राजेश यादवले तीन तथा हरिशङ्कर साह र प्रदीप पासवानले एक एक विकेट लिए। सिद्धार्थ क्रिकेट रङ्गशालामा बुधबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ। रासस
Shares

प्रतिक्रिया