राफिन्हाको निर्णायक गोलमा बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बेन्फिकामाथि साँघुरो जित दर्ता गरेको छ।
गएराति बेन्फिकाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा १–० को जित दर्ता गरेको हो।
खेलको २२ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको बार्सिलोनाका लागि राफिन्हाले ६१ औँ मिनेटमा निर्णायक गोल गरे।
जारी सिजनमा २५ गोल गरेका राफिन्हाले च्याम्पियन्स लिगका नवौँ गोल गरेका हुन्। नकआउट चरणको दोस्रो लेगमा बार्सिलोना पाउ क्युबार्सीविहिन नै मैदान उत्रनेछ। उनी खेलको २२ औँ मिनेटमा सिधै रातो कार्ड खाँदै मैदान छाडेका थिए।
दोस्रो लेग ११ मार्चमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ।
गएराति नै भएको अर्को खेलमा लिभरपुलले पिएसजीमाथि १–० कै कठिन जित निकालेको छ।
खेलको ८७ औँ मिनेटमा हार्व इलियटको निर्णायक गोलमा लिभरपुलले पहिलो लेगमा अग्रता बनाएको हो। खेलका पिएसजीले लिभरपुललाई दबाबमा राखेपनि अग्रता बनाउन भने असफल भयो।
अर्को खेलमा बायर्न म्युनिखले बायर लिभरकुसेनलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ।
ह्यारी केनको दुई गोल मद्धतमा म्युनिखले घरेलु मैदानमा १० खेलाडीमा सिमित लिभरकुसेनमाथि फराकिलो जित हात पारेको हो। बायर्न म्युनिखको जिता केनले दुई तथा जमल मुसियलाले एक गोल गरे।
गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले फियनोर्डमाथि २–० को जित दर्ता गरेको छ।
Shares

प्रतिक्रिया