नेपाली महिला फुटबल टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी 'साम्बा'का बुवा थम्बबहादुरले पहिलोपटक छोरीको खेल पहिलोपटक प्रत्यक्ष हेर्न पाउँदा खुसी लागेको बताएका छन्।
आज छोरीको खेलबारे पत्रकारले सोधेको प्रश्नमा उनले सधैँ मोबाइमा हेरिरहेको तर यसपटक मैदानमै हेर्न पाउँदा खुसी लागेको बताएका हुन्।
'छोरीले रंगशालामा खेलेको देख्दा रमाइलो लाग्यो। जित्न नसक्दा अलि दु:ख लाग्यो,' उनले भने, 'मोबाइलमा हेरिन्थ्यो। अहिले चाहिँ खेल हेर्न आउनु भनेको भएर मिलाएर आएँ।'
उनले साम्बाले बुवा र ममीलाई दुवै जनालाई मैदानमा ल्याएर खेल देखाउन रहर गरे पनि घरको कामले ममी आउन नसकेको बताए।
साम्बाका बुवाले प्रीति राई, रेखा पौडेल र सविता रानाको खेल पनि साह्रै मन परेको सुनाए।
बुधबार नेपाल र म्यानमारबीच चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल भएको थियो। खेलमा नेपाल २-० गोलले पराजित भयो।
खेल हेरेपछि साँझ साम्बाकी ममीसँग कुरा गरेको पनि उनले बताए। उनले साम्बाले अझै धेरै उच्च स्थानमा खेलोस् भन्ने चाहेको बताए।
'छोरीले उच्च स्थानमा खेलोस्, अझै नाम कमाओस् भन्ने चाहन्छु' छोरीलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनले भने।
साम्बा अहिले फ्रान्सको क्लबबाट व्यवसायिक फुटबल खेल्छिन्।
Shares

प्रतिक्रिया