आसन्न संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि धनगढी एफसीको सहायक प्रशिक्षकमा भीष्म भाट नियुक्त भएका छन्।
सहायक प्रशिक्षक भाट र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सहायक प्रशिक्षकमा नियुक्त भएपछि भाटले आफ्नै सहरको टिममा काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। उनले टोलीलाई उत्कृष्ट नतिजा दिलाउन आफ्नो तर्फबाट पूरा कोसिस गर्ने बताए।
यस्तै, धनगढी एफसीले देवेन्द्र तामाङ, रामचन्द्र वाझी र रन्दीप पौडेललाई रिटेन गरेको छ। देवेन्द्रलाई ‘ए’ क्याटागोरी र रामचन्द्र तथा रन्दीपलाई ‘बी’ क्याटागोरीमा रिटेन गरेको हो।
देवेन्द्र गत सिजन धनगढी एफसीको कप्तानसमेत रहेका थिए। तीनजना खेलाडीलाई रिटेन गर्न पाउने नियमअनुसार उनीहरूलाई रिटेन गरेको धनगढी एफसीले जनाएको छ।
धनगढीले यसअघि नै कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरिसकेको छ। क्लबले आइतबार २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डरलाई मार्की बनाएको हो। छुन्जुले यसअघि बुटवल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए।
पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग पराजित भएको थियो। यस्तै, गत संस्करणको फाइनलमा ऊ ललितपुर सिटीसँग स्तब्ध हुँदै उपाधि जित्न वञ्चित भयो।
तेस्रो संस्करणको एनएसएल अक्सन यही फागुन १० मा हुँदै छ। लिगमा धनगढीसहित सात टोलीको सहभागिता रहनेछ।
Shares

प्रतिक्रिया