चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब पाँच वर्षपछि आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लव उपाधि नजिक पुगेको हो।
आहाराराको ११ औँ फाइनल खेल्न लागेको पुलिस क्लब २०७६ पछि फाइनलमा पुगेको हो। २०७६ को फाइनलमा पुलिस क्लब मनाङ मर्स्याङदी क्लवसँग टाईब्रेकरमा पराजित भएको थियो।
आहाराराको इतिहासमा पुलिस क्लव सर्वाधिक फाइनल खेल्ने टोली बन्नेछ। यसअघि मनाङले १० पटक प्रतियोगिताको फाइनल खेलेको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।
आहाराराको २ सय ५० औँ खेल खेलेको पुलिस क्लवका लागि सञ्जिव लामाले निर्णायक गोल गरे।
खेलको ५८ औँ मिनेटमा सञ्जिवको प्रहार चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र सिंह थापाले रोक्ने मौका पाएनन्। प्रतियोगिताको तीन खेलमा पुलिसका चार फरक खेलाडीले गोल गर्दै टोलीलाई अघि बढाए।
खेलको ६९ औँ मिनेटमा चर्च ब्वाइजले बराबरीको सुन्दर मौका गुमायो। चर्च ब्वाइजका नविन लामाको प्रहार पुलिसका डिफेन्डरले क्लियर गरेको बललाई कप्तान सर्जि डिकाको शसक्त प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे।
त्यसपछि पनि आक्रमणमा बलियो मुभ बनाए पनि फिनिसिङमा चुक्दा चर्च ब्वाइज खेलमा फर्कन सकेन।
पुलिस क्लबले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।
दोस्रो सेमिफाइनलमा भोलि बिहीबार थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्नेछन्। सो खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।
Shares

प्रतिक्रिया