अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबलको १५ औ संस्करण फागुन ३ गतेदेखि हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता एक साता चल्ने जानकारी दिएको हो।
इटहरी रङ्गशालामा हुने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए। उनका अनुसार विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पाउने छन्। सर्वाधिक गोलकर्तालाई २५ हजार प्रदान गरिने आयोजकले जानकारी दियो।
प्रतियोगितामा साविक विजेता चर्ज ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, न्यु रोड टिम एनआरटी, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाइटेड खरसाङ फुटबल क्लब युकेएफसी भारत, दुई पटकको च्याम्पीयन सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब गरी ८ टिमको सहभागिता रहने छ।
८१ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका तथा वडा कार्यालयबाट १७ लाख रुपैयाँ प्राप्त हुने क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए। गत संस्करणमा खेलकुद विकास बोर्ड कोसी प्रदेशले १५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ नआएपछि १ लाख ३२ हजार रुपैयाँ घाटा लागेको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा आयोजकले खेल तालिकासमेत सार्वजनिक गरेको छ। उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)बीच प्रतिस्पर्धा हुनेछ। फागुन ४ गते सगरमाथा युथ क्लब मोरङ र न्युरोड टिम काठमाडौँ (एनआरटी) बीच खेल हुनेछ । फागुन ५ गते मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११ बिच प्रतिस्पर्धा हुने तालिका छ।
Shares

प्रतिक्रिया