समाज


ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै

ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८१ शनिबार १५:५०, काठमाडौँ

ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक कालोपत्र हुने भएको छ। 

बि.स. २०४९ मा ट्रयाक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ। उक्त सडकखण्डअन्तर्गत भुम्रे-अर्चलबोट-तमादी-डुम्रेभञ्ज्याङसम्मको कालोपत्र बजेट अभावले रोकिएकोमा पुनः बजेट विनियोजन भएपछि काम थालिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ। 

संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहु वर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु. चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो। मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ।

डिजाइन स्टिमेट तयार गरेर तत्काल ठेक्का आह्वान गरिने सडक डिभिजनका इञ्जिनियर ध्रुव पोखरेलले जानकारी दिए। चिसापानीदेखि हुवास-त्रिवेणी-वहाकी-रानी पानीसम्म यसअघि कालोपत्र भइसकेको छ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले उक्त सडक कालोपत्र गरेको हो। डुम्रे भञ्ज्याङदेखि चिसापानी सडक कालोपत्र भएपछि पर्वतको दक्षिणी क्षेत्रका यात्रुलाई सहज हुने छ । यस सडकले पैंयू गाउँपालिकाका सात, विहादीका छ वडाका साथै महाशीला र फलेवास नगरपालिकाका स्थानीयवासी लाभान्वित हुने छन्।

सडक कालोपत्र भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर जोडिनुका साथै वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने पैंयू गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष नारायण भुर्तेलले बताए।

वालिङ-हुवास सडकको लम्बाइ १६ किलोमिटर छ। सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय र जोखिम मोल्नुपर्ने अवस्था छ।

सो सडकसँगै पर्वतका अन्य चार वटा सडक कालोपत्र गर्न बजेट विनियोजन भएको हो। कुश्मा नगरपालिकाको पर्नेदोविल्ला-पकुवा-गँगटे-डाँडाखर्क सडक, जलजला गाउँपालिकाको लेखफाँट-शालिजा सडक, मोदी गाउँपालिकाको देउपुर-पूर्णगाउँ-घुरुंगा सडक र फलेवास नगरपालिकाअन्तर्गत लिमठाना-अर्चले-भँगरा सडकका लागि बजेट विनियोजन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad