कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकबाट युवा तथा खेलकुद मन्त्रालयलाई यस्तो निर्देशन दिइएको हो।
बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १०औँ राष्ट्रिय खेलकुद सम्पन्न गर्ने गरी आवश्यक काम थाल्न मन्त्रालयलाई निर्देशन दिए। त्यसका निम्ति द्रुतस्तरमा काम गर्न उनले आग्रह गरे।
'हाम्रो समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो। समयमा खेलकुद गर्न कसरी फास्ट ट्रयाकमा जान्छ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई विशेष बढी प्रेसर हुनेछ,' उनले भने, 'यसका फास्ट ट्रयाकमा जाने विधि र प्रक्रिया के हुन् ? अर्थ मन्त्रालयबाटै खोलेर २३ गते नै सक्ने गरी काम गर्नुपर्छ।'
गएको मंसिर २ देखि ९ गतेसम्म हुने गरी कर्णालीमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । तोकिएको समयमा भौतिक पूर्वाधार निर्माण गर्न नसक्दा सरकारले आउँदो चैत २३ गतेदेखि प्रतियोगिता गर्ने घोषणा गरेको छ।
पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदबाट १०औँ प्रतियोगिता कर्णालीमा गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो ।
Shares

प्रतिक्रिया