एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ।
सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल महिलातर्फ एपीएफ र ट्राभल इन्क्वारीबीच हुनेछ।
उक्त खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि बिहान १० बजेबाट सुरु हुनेछ। पहिलो दिन हुने तीनवटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ।
भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि साढेएक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन्।
पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।
प्रतियोगितामा २ विदेशी टोलीसहित ६-६ टोलीले सहभागिता जनाएका छन्। विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागी छन्।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन्। प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा पुगिसकेका छन्।
प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने छ।
Shares

प्रतिक्रिया