बार्सिलोनामा ३ वर्ष सँगै हुँदा लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारले क्लब फुटबलमा प्रभुत्व जमाए।
संयुक्त रुपमा ‘एमएसएन’ भनेर चिनिने यी ३ खेलाडीले सो अवधिमा ३६४ गोल र १७३ मौका सिर्जना गरे। र, पहिलो सिजन ‘ट्रेबल’ जितेर इतिहास कायम गरे।
तर, २०१७ मा कीर्तिमानी रकममा नेयमार पीएसजी गएपछि यी तीन खेलाडीको हल टुट्यो।
मेस्सी र स्वारेज थप ३ वर्ष बार्सिलोनामै रहे। त्यसपछि स्वारेज एट्लेटिको मड्रिड गए।
तर, यो जोडी २०२४ मा पुन अमेरिकी क्लब इन्टर मायामीमा भेटियो। जबकि नेमार भने साउदी अरबको अल हिलालमा छन्।
‘निश्चय नै पुनः मेस्सी र स्वारेजको साथमा खेल्न पाउनु गज्जब हुनेछ,’ हालै दुबईमा नेयमारले भनेका छन्, ‘उनीहरू मेरा साथी हुन्। हामी अझै पनि आपसमा कुराकानी गर्छौं। म अल हिलालमा खुसी छु, साउदीमा खुसी छु। तर, के थाहा! फुटबलमा अचम्म भइरहन्छ।’
उनले पीएसजी छाड्दै गर्दा अमेरिकामा खेलाडी किनबेचको समय सकिइसकेकाले त्यतिबेला आफूलाई अमेरिका जाने विकल्प नरहेको पनि उनले बताए।
स्वारेज अझै एक वर्ष मायामीमा रहने छन्। साउदीमा नेयमारको सम्झौता भने आगामी बर्खामा सकिँदैछ।
यद्यपि, २०२६ मा अमेरिकी भूमिमा यी तीन खेलाडी फेरि भेट हुने जोग भने छ। किनकि अमेरिकामा विश्वकप आयोजना हुँदैछ।
त्यो विश्वकप आफ्ना लागि अन्तिम मौका भएको उनको भनाइ छ। सीएनएन
Shares

प्रतिक्रिया