युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरूलाई निर्देशन दिएका छन्।
मंगलबार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाई दिँदै उनले यस्तो बताएका हुन्। उनले खेलकुदमा दर्ता भएका संघहरूले देशको ऐन, कानुन नमान्ने र अदालतको आदेश नमान्ने भन्ने नहुने स्पष्ट पारे।
जित्नैपर्ने मानसिकताबाट मात्रै सफलता हात पार्न नसकिने भन्दै देशको ऐन, कानुन र नियमावलीअनुसार खेलकुद संघहरू चल्नुपर्ने उनको भनाई थियो।
मन्त्री चौधरीले भने, ‘हाम्रा संघहरू, खेलकुदमा दर्ता भएको संघहरु हाम्रो देशको ऐन नमान्ने, हाम्रो देशको कानुन नमान्ने, अदालतको नियम, कानुन नमान्ने। अनि त्यो संघहरू, त्यो संस्थाहरूलाई एग्रिसिप भएर जसरी पनि जित्नैपर्ने मानसिकताबाट त्यो सफलता प्राप्त गर्न सक्दैन।’
बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एशियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरे।
मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो। प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ। रासस
Shares

प्रतिक्रिया