भोलि (८ जनवरी) देखि संयुक्त अधिराज्य (यूके) यात्रा गर्ने योजना बनाइरहेका हङकङवासीलाई आफ्नो यात्राअघि इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) चाहिने भएको छ।
बेलायतको नयाँ प्रवेश नियमअन्तर्गत हङकङसहित ४८ देश र क्षेत्रका व्यक्तिले यात्रा वा ट्रान्जिट गर्नुअघि ईटीएका लागि निवेदन दिनुपर्ने भएको हो।
हङकङसहित इजरायल, जापान, कतार, अर्जेन्टिना, अस्ट्रेलिया, बहराइन, ब्राजिल, ब्रुनाई, क्यानडा, चिली, कुवेत, ओमान, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया आदि ४८ देशबाट बेलायत जाने यात्रुले अब अनिवार्य रूपमा ईटीए प्राप्त गर्नु पर्नेछ।
बेलायती सरकारका अनुसार, नयाँ नियमले अधिकारीहरूलाई व्यक्तिगत जानकारी, बायोमेट्रिक डेटा र आगन्तुकको सम्पर्क विवरणमा पूर्वपहुँच सुनिश्चित गर्दछ। जसबाट सम्भावित सुरक्षा जोखिमहरू कम हुन्छन्।
ईटीए दुई वर्षको लागि मान्य हुनेछ र यसले धेरै पटक प्रवेशको अनुमति दिनेछ। तर, यसको वैधता अवधिभित्र एक पटकमा अधिकतम ६ महिनाभन्दा बढी भने बस्न पाइने छैन।
ईटीएको लागि आवेदन शुल्क १० पाउन्ड रहेको छ। आवेदकहरूले आधिकारिक मोबाइल एप वा वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि सम्पर्क नम्बर, राहदानी विवरण, र फोटो आवश्यक पर्दछ।
आवेदनको स्वीकृति सूचना सेवाग्राहीले तीन कार्य दिनभित्र इमेलमार्फत पाउनेछन्। ईटीए आवेदकको राहदानीसँग लिङ्क गरिएको हुनेछ। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया