जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमजस्तो बलियो टिमलाई हराउँदै उपाधि जित्न सफल भएपछि पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले यो प्रतिक्रिया दिएका हुन्।
आफ्नो टोलीका स्पिनर ललितले प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको उनको भनाइ छ।
उनले कहिलेकाहीँ रनमा मात्र ध्यान हुने भए पनि ललितको प्रदर्शन नै खेलको महत्त्वपूर्ण पक्ष रहेको बताए।
ललितले ब्याटिङ पिचमा पनि राम्रो बलिङ गरेको प्रशिक्षक पुबुदुको भनाइ छ। आफू जनकपुरको प्रशिक्षक भएर मात्र ललितलाई समर्थन नगरेको र उनी नै प्रतियोगिताको प्रमुख खेलाडी रहेको पुबुदु बताउँछन्।
यद्यपि उनले दीपेन्द्रसिंह ऐरीले पनि राम्रो खेलेको बताए। उनले पावर प्लेमा आसिफ शेख र लाहिरु मिलन्थाले खेलको माहोललाई परिवर्तन गराएको प्रतिक्रिया दिए।
यस एनपीएलमा नेपालका सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गरेकाले यो नै सुखद पक्ष रहेको पुबुदुको भनाइ छ।
स्टार खेलाडीसँग एउटै ड्रेसिङ रुम सेयर गर्न पाउँदा उनीहरूमा थप आत्मविश्वास बढ्ने उनको बुझाइ छ।
Shares

प्रतिक्रिया