खेल


जनकपुरको च्याम्पियन यात्रा

जित्नेमा ढुक्क थियौँ : पुबुदु, निर्णायक खेलमा चुकेनौँ : आशिफ
जनकपुरको च्याम्पियन यात्रा

सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो (सरोज नेपाल)


लक्ष्मी जि.सी
पुस ६, २०८१ शनिबार १८:४०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)मा सन्तुलित टोलीको रुपमा सुरुवात गरेको जनकपुर बोल्ट्सले बीचमा केही लय गुमाए पनि दोस्रो क्वालिफायरबाट उत्कृष्ट पुनरागमन गर्‍यो। 

फलतः शनिबार एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्न सफल भयो। 

सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो। 

१ सय ८५ रनको लक्ष्य जनकपुरले ४ बलअघि नै ५ विकेट गुमाएर भेटएको थियो। एनपीएलको उपाधि जितेसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ पनि आफ्नो पोल्टामा पार्‍यो।

‘हामीले जित्छौँ भन्ने थाहा थियो। हाम्रो रणनीतिअनुसार नै खेलाडीले खेलेकाले उपाधि जित्न सफल भयौँ’, उपाधि जितेपछि जनकपुरका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘नेपाली क्रिकेट मेरो सम्झनामा सधैँ रहिरहेको छ। यो पनि राम्रो सम्झना थपिएको छ।’

एनपीएलको सुरुवातको चार खेलमा अपराजित रहेको जनकपुरले पाँचौँ खेलमा आएर पहिलो हार व्यहोर्यो। जनकपुरको अपराजित यात्रामा पूर्णविराम पनि सुदुरपश्चिम रोयल्सले नै लगाएको थियो। 

त्यसपछिका खेलमा भने जनकपुरको बलिङ र ब्याटिङ लाइन धरमराउँदा पुनरागमनका लागि केही संघर्ष गर्नुपर्यो। 

यही बीचमा टोलीका ओपनर तथा कप्तान अनिल साहको चोट पनि जनकपुरका लागि घातक बन्यो। तर निर्णायक खेलमा भने जनकपुरले बाजी मार्न सफल भयो।

‘हामीले जित्नुपर्ने थियो। जित्यौँ। आजको खेलमा बदलाको भाव केही थिएन। हामीलाई राम्रो सुरुवातको जरुरी थियो। जुन आजको खेलमा भयो’, जितपछि टोलीका कप्तान आशिफ शेखले भने, ‘सोही कारण नै उपाधि जित्न सफल भयौँ।’ 

निर्णायक खेलमा बलरले पनि राम्रो प्रदर्शन गरेको उनले सुनाए। 

उनले थपे, ‘जुन विकेटमा आजको खेल भएको थियो, त्यो विकेटमा सुदूरपश्चिमलाई रोक्दा जित्छौँ भन्ने थियो। जुन हामीले गर्न सफल भयौँ।’

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित भए पनि दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन जनकपुर सफल भएको थियो। 

एनपीएलको पहिलो खेलमा जनकपुरले विराटनगरलाई तथा दोस्रो खेलमा कर्णालीलाई समान ८ विकेटले हराएको थियो। तेस्रो खेलमा पोखरामाथि ७ विकेटको जित निकालेको जनकपुरले लुम्बिनीमाथि १ रनको रोमाञ्चक जित दर्ता गर्न सफल भयो। 

तर पाँचौँ खेलमा आएर पराजित जनकपुरले छैटौँ खेलमा काठमान्डुलाई ५ विकेटले हराउँदै नतिजा आफ्नो पक्षमा पार्यो। लिग चरणको अन्तिम खेलमा चितवनसँग ३२ रनले पराजित भएपछि समूह उपविजेताको रुपमा पहिलो क्वालिफायरमा पुगेको थियो। 

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्यो। उपाधि नजिक पुगेर पनि टाढिएको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई २ विकेटले हराएर फेरि उपाधिको नजिक पुगेको थियो। 

लगातार दुई पटक सुदूरपश्चिमसँग पराजित भएको जनकपुरले तेस्रो भेटमा भने नतिजा आफ्नो पक्षमा पार्यो। फाइनल खेल ५ विकेटले जित्दा जनकपुरले खेल मात्र जितेन, हारको बदला लिँदै उपाधि नै उचाल्यो। 

एनपीएलको मध्यतिर पुग्दा जनकपुर र सुदूरपश्चिमलाई सुरुवातदेखि नै उपाधि दाबेदारको रुपमा हेरिएको थियो। नतिजा आयो पनि उस्तै। जनकपुरको पुनरागमनले हारको शृंखला पनि तोड्यो र समर्थकलाई खुसी पनि दियो।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad