खेल


एनपीएल फाइनलमा २ छोरा आमनेसामने: आसिफलाई बुबाको समर्थन, आरिफलाई आमाको

एनपीएल फाइनलमा २ छोरा आमनेसामने: आसिफलाई बुबाको समर्थन, आरिफलाई आमाको

नेपालखबर
पुस ५, २०८१ शुक्रबार २१:२८, काठमाडौँ

आफ्नो कोखबाट हुर्किएका दुई सन्तान खेलको मैदानमा आमनेसामने छन्। त्यो पनि उपाधि होडका लागि आफ्नो सम्पूर्ण शक्तिका साथ मैदानमा उत्रिँदै छन्।

उनीहरूको खेल करिअरमै यो दुर्लभ घटना हुँदै छ कि दाइलाई हराए भाइले र भाइलाई हराए दाइले देशभित्रको सर्वाधिक ठूलो खेलको उपाधि पाउँदै छन्। यस्तो अवस्थामा परिवारका सदस्यले कसको पक्ष लिने? अझ बुवाआमाले कसलाई समर्थन गर्ने?

यो धर्मसंकट अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा मोहमद सलाम शेख र आमा प्रवीण बानुको दम्पतीलाई आइलागेको छ। किनभने, उनीहरूका छोराहरू आरिफ शेख र आसिफ शेख पहिलो एनपीएलको फाइनलमा फरक टिमबाट भिड्दै छन्।

आशिफ

नेपाली क्रिकेट राष्ट्रिय टिमका सदस्यसमेत रहेका आरिफ शेख दाइ हुन् भने आसिफ शेख भाइ। आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका छन् भने आसिफले जनकपुर बोल्ट्समा छन्। अझ आसिफ त जनकपुर बोल्ट्सका मार्की खेलाडी नै हुन्।

उत्कृष्ट प्रदर्शनका कारण यी दुवै टिम अन्य ६ वटालाई पछि पार्दै फाइनल पुगेका छन्। आरिफको टिम सुदूरपश्चिमले आसिफको जनकपुरलाई २ पटक हराइसकेको छ। जनकपुर ती दुवै हारको बदला फाइनलमा उपाधि कब्जा गरेर लिन खोज्दै छ।

सुदूरपश्चिमले समूह चरणमा र क्वालिफायरमा जनकपुरलाई हराएको थियो। समूह चरणमा सुदूरपश्चिमले एउटा मात्र खेल हार्दा जनकपुरले २ वटा हार चाखिसकेको छ। रोचक त यो छ कि समूह चरणमा यी दुवै टोलीलाई हराउने चितवन थियो, जुन एलिमिनेटरमा कर्णालीसँग हारेर एनपीएल यात्राबाट बाहिरिएको थियो।

आरिफ

यो रोचक प्रतिस्पर्धाले शेख परिवारमा थप रोमाञ्चकता र उत्सुकता भरिदिएको छ। किनभने, बुवा आसिफलाई समर्थन गर्न पुगेका छन् भने आमाले आरिफको पक्षमा उभिएकी छन्। उनीहरूले आफूले समर्थन गरेका टिम र खेलाडीको जर्सीसहितको तस्बिर नै खिचाएर सार्वजनिक गरेका छन्।

अर्थात्, बुवा आसिफको टिम जनकपुरतिर देखिएका छन् भने आमा आरिफको टिम सुदूरपश्चिमको पक्षमा।

शुक्रबार प्रिम्याच कन्फरेन्समा पनि यो प्रसंग उठेको थियो। जवाफमा आशिफले भने, ‘दाजुभाइ घरमा हुन्छौँ। क्रिकेटमा आएपछि हामी व्यावसायिक हुन्छौँ। त्यस्तो केही सेयर हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad