खेल


यी ८ खेलाडी, जसले एनपीएलमा एक रन पनि जोड्न सकेनन्

डक आउट हुने सबै खेलाडी १ देखि ५ लाखसम्मका
यी ८ खेलाडी, जसले एनपीएलमा एक रन पनि जोड्न सकेनन्

अनिल यादव
पुस ५, २०८१ शुक्रबार ८:१६, काठमाडौँ

भनिन्छ, क्रिकेटमा हरेक खेलाडीले आफ्नो नजर बलमा राख्नुपर्छ र आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्छ। जित महत्त्वपूर्ण हुन्छ तर त्योभन्दा पनि बढी महत्त्व कसरी खेल्ने भन्नेमा हुन्छ। 

नेपालमा पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) अब फाइनलमा पुगिसक्यो। यस बीचमा ३१ खेल सम्पन्न भए। अब शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुरबीच फाइनल खेल हुँदै छ। 

तर, यो एनपीएलको फाइनल हुनुअघिसम्मको स्कोरकार्ड हेर्दा ८ खेलाडी यस्ता भेटिए, जसले अहिलेसम्म आफ्नो खातामा एक रन पनि जोड्न सकेनन्। अर्थात्, डग आउट भए।

एक रनमा पनि नहानी शून्यमा आउट भएकालाई क्रिकेटमा डग आउट मानिन्छ। तीमध्ये एकबाहेक सबै नेपाली खेलाडी छन्। रोचक त के छ भने अधिकांश बलर छन्। तर, कोही पनि पाँच लाखभन्दा माथिको रकममा किनिएका खेलाडी छैनन्। 

पोखरा एभेन्जर्स
यो एनपीएलको सबैभन्दा महँगो फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सबाट नै सबैभन्दा बढी खेलाडी डगआउट भए। ५ लाख रुपैयाँ पारिश्रमिकमा पोखराबाट खेलेका तृतराज दासले जम्मा १ खेल मात्रै खेले। तर, विराटनगरविरुद्धको उक्त खेलमा उनी गोल्डेन डक भए। अर्थात् पहिलो बलमै आउट। एनपीएलको पहिलो संस्करणको स्कोरकार्डमा उनको नाममा एक रन पनि चढ्न सकेन। 

नेदरल्यान्ड्सबाट आएका ब्याटिङ अलराउन्डर बास डि लिडेबाट पोखरालाई ठूलो अपेक्षा थियो। तर, चितवनविरुद्धको पहिलो खेलमै उनी गोल्डेन डक भए। ब्याटिङभन्दा उनको बलिङ राम्रो भयो। ४ ओभरमा २० रन खर्चिदै उनले २ विकेट लिए। पोखराले उक्त खेलमा हार व्योहोरेपछि दोस्रो खेलबाट लिडे क्रिजमा आएनन्। घाइते भएका कारण घर फर्किएको बताइएको छ। 

ट्यालेन्ट हन्टमार्फत गण्डकी हिरोजका रूपमा छनोट भएका सुदीप अर्यालले पोखराको अन्तिम खेलमा मात्रै खेल्ने मौका पाए। ब्याटिङमा त आए तर बलको सामना गर्न पाएनन्। त्यसैले रनविहीन भए। १ लाख पारिश्रमिक पाएका अर्यालले दुई ओभर बलिङ गर्ने मौका पनि पाए। तर, १९ रन खर्चिए पनि विकेट लिन सकेनन्। 

कर्णाली याक्स
यो एनपीएलमा शिखर धवनलाई लिएर आएको कर्णाली याक्समा पनि दुईजना खेलाडी रनविहीन भए। अक्सनबाट ५ लाखका खरिद गरिएका दायाँहाते ब्याटर रित गौतमले जम्मा दुई खेल खेले। ती दुई खेलमै ब्याट गर्न पाए। दुई खेल गरेर जम्मा ४ बलको सामना गरेका उनी पनि यो लिगबाट रनविहीन बिदा भए। 

ट्यालेन्ट हन्टबाट छनौट भएका कर्णालीका विपिन शर्माले यो एनपीएलमा बलिङमार्फत तहल्का पिटिरहेका छन्। सबैभन्दा कम अर्थात् एक लाख मात्रै पारिश्रमिक पाएर यो लिग खेल्ने अवसर पाएका शर्माले पूरै ८ वटै खेल खेले। यसबीचमा जम्मा २९ ओभर बल गरेर १७१ रन खर्चिएका उनले १३ विकेट लिए।

धवनसँग क्रिज सेयर गरेका उनले यो एनपीएलमा जिमी निशम, सोहेल तन्विर, बेन कटिङ, लोफ्टी इटन र अमरसिंह रटेउलाजस्ता विदेशबाट अनुबन्धित भएर आएका अनुभवी खेलाडीहरूको विकेट लिए। बलिङमार्फत नेपाली क्रिकेटको नयाँ सम्भावनाका रूपमा उदाएका विपिनले ब्याटिङमा भने एक रन पनि जोड्न सकेनन्। बिहीबार क्वालिफायर २ को खेलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदासम्म उनले जम्मा २ विनिङ मात्रै ब्याटिङ गर्ने मौका पाएका थिए। दुई खेलको जोडेर जम्मा ३ बलको मात्रै सामना गर्न सके। फाइनलअघिसम्म सबैभन्दा बढी विकेट टेकरको सूचीमा उनी चौथो स्थानमा छन् तर रनमा भने अन्तिममै भए। 

चितवन राइनोज
३ लाख पारिश्रमिक लिएर चितवन राइनोजबाट खेलेका रन्जित कुमार पनि यो एनपीएलमा रनका हिसाबले रित्तो घर फर्किए। बायाँ हाते ब्याटरले उनले ५ खेल खेले। तर, १ खेलमा मात्रै ब्याटिङको अवसर पाए। तर, न ‘बल फेस’ गर्न पाए, न रन नै जोड्न सके। पहिलो एनपीएलमा उनको स्कोर खाता शून्य रनमै सीमित भयो। तर, ५ खेलमै बलिङ गरेका उनले २ विकेट भने लिन सफल भए। लिगभर ८४ बल गर्दा १२० रन खर्चिए। 

विराटनगर किंग्स
विराटनगर किंग्सले ५ लाख रुपैयाँमा खरिद गरेका जितेन्द्र मुखिया पनि यो लिगमा गोल्डेन डक भए। १ खेल मात्रै खेलेका उनी पहिलो बलमै पेभेलियन फर्किए। उनले १ ओभर बल गर्ने मौकासमेत पाएका थिए। तर, यसमा पनि विकेट लिन सकेनन्। 

लुम्बिनी लायन्स
२ लाख पारिश्रमिक लिएर लुम्बिनी लायन्सबाट खेलेका अभिशेष गौतम पनि एनपीएलमा पहिलो बलमै आउट हुने खेलाडीको सूचीमा पर्छन्। ४ खेल खेले पनि एक मात्रै खेलमा ब्याटिङको अवसर पाएका उनी पनि गोल्डेन डक नै भएका थिए। आफ्नो खातामा एक रन पनि जोड्न नसकेका उनले ४ खेलमै बलिङ गरे। ब्याटिङमा शून्य रन भए पनि बलिङमा भने ९६ बल फ्याँकेका उनले ७८ रन खर्चिदै ६ विकेट लिन सफल भए।

तीन टिममा छैनन् रनविहीन खेलाडी
फाइनलमा पुगेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्समा भने कोही पनि खेलाडी रनविहीन छैनन्।

१६ विकेटसहित सर्वाधिक विकेट टेकर र एनपीएलकै उत्कृष्ट खेलाडी भएर कार पाउने दौडमा रहेका ललित राजवंशीले ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेका छैनन्। तीन खेलमा ब्याटिङ गर्न पाएका उनले अहिलेसम्म कुल ४ रन मात्रै जोडेका छन्। 

सुदूरपश्चिम रोयल्सबाट जम्मा एक खेल मात्रै खेलेका अमीत श्रेष्ठले ५ बलको सामना गर्दा १ रन बनाएर आउट भएका थिए। अभिनाश बोहोराले दुई खेलमा ब्याटिङको मौका पाउँदा जम्मा ३ बलको सामना गरेका छन् र २ रन मात्रै जोड्न सकेका छन्। तर, बलिङमा भने उनको प्रर्दशन ठिकै छ। ७ खेलमा २१ ओभर बलिङ गर्दा उनले १५४ रन खर्चिदै ७ विकेट लिएका छन्।

स्कोरकार्ड हेर्दा काठमान्डु गुर्खाजमा पनि रनविहीन कोही छैनन्। इंग्ल्यान्डका बलर नाथेन सोटरले तीन खेलमध्ये एक खेलमा ब्याटिङको अवसर पाउँदा एक रन हानेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad