खेल


चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा

चितवनलाई हराउँदै कर्णाली क्वालिफायरमा

नेपालखबर
पुस ३, २०८१ बुधबार १२:३२, काठमाडौँ

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ।  

कर्णालीसँगको हारले चितवन भने प्लेअफबाटै बाहिरिएको छ।

बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको हो। 

कर्णालीले अब फाइनलमा स्थान बनाउनका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीविरुद्ध खेल्नेछ। पहिलो क्वालिफायरमा आजै सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो।

चितवनका रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा नन्दन यादवको बलमा गुल्सन झाको हातबाट क्याच आउट हुन पुगे।

कप्तान कुशल मल्ल २१ रनमा विपिन शर्माको बलमा बोल्ड आउट भए। विपिन रावलले १८ र लुक वेनकेन्स्टाइनले १६ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कर्णालीका लागि जिसन मक्सुदले तीन विकेट झारे। सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए। विपिन शर्माले एक् विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो। 

पाचौँ विकेटका लागि विलियम बसिस्टो र चान्डविक वाल्टनले ६७ रनको साझेदारी गरे। विलियन ५२ रन बनाउँदै सोहेल तनविरको बलमा बोल्ड आउट भए। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

चाडविक ४६ सोमपाल कामी शून्य रनमा नटआउट रहे। चान्डविकले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर जयकिसन कोल्सावाला ५३ रन बनाउँदै क्याच आउट भए। १३ औ ओभरको चौथो बलमा जयनकिसन रवि बोपाराको बलमा शरद भेषावकरको हातबाट क्याच आउट भए। 

उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। उनी मंगलबार मात्र नेपाल आइपुगेका हुन्।  

जिसन मक्सुद १४ रनमा क्याच आउट भए। १२ बलमा १ चौका र १ छक्का हानेका मक्सुद शरद भेषावकरको बलमा रन्जित कुमारको हातबाट क्याच आउट हुन पुगे। 

देव खनाल ३ रनमा रनआउट भए। रित गौतम र गुल्सन झा शुन्य रनमा नै आउट भए। 

चितवनका लागि सोहेल तनविरले दुई विकेट लिए। शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक विकेट आफ्नो नाममा गरे।

चौथो स्थानमा पुगेसँगै चितवनले १५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad