खेल


यू-१९ महिला एसिया कप : भारतसँग भिड्नुअगावै नेपाल सुपर ४ मा

यू-१९ महिला एसिया कप : भारतसँग भिड्नुअगावै नेपाल सुपर ४ मा

नेपालखबर
पुस १, २०८१ सोमबार १७:३२, काठमाडौँ

नेपाल यू-१९ महिला टी–२० एसिया कपको सुपर ४ मा प्रवेश गरेको छ। मलेसियामा जारी एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपालले समूहको अन्तिम खेलअघि नै सुपर–४ मा स्थान सुरक्षित गरेको हो। 

समूह ‘ए’मा नेपालसहित भारत र पाकिस्तान छन्। पाकिस्तान आफ्ना दुवै खेलमा पराजित भएर बाहिरिएसँगै नेपाललाई सुपर-४ को ढोका खुलेको हो। नेपालले पाकिस्तानमाथि ऐतिहासिक जित हात पार्‍यो। 

नेपालको जितमा पूजा महतोले कप्तानी पारी खेलिन्। खेलको प्लेयर अफ दि म्याच समेत घोषित पूजाले नटआउट ४७ रन जोडिन्। उनले ४७ बलको सामना गर्दै ३ चौकाको मद्दतमा अविजित पारी खेलेकी हुन्। 

नेपालका लागि सर्वाधिक २ विकेट पनि उनैका नाममा रह्यो। पूरै ४ ओभर बलिङ गर्दा उनले २७ रन खर्चिएर महत्त्वपूर्ण २ विकेट हात पारेकी हुन्। 

पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २३ रन बनाउँदा ओपनर सावित्री धामी आउट भएपछि कप्तान महतो ब्याटिङमा आएकी थिइन्। 

साना प्रवीन पनि क्रिजमा लामो समय टिक्न सकिनन्। उनले व्यक्तिगत १० रन बनाउँदा नेपालको २८ रन भएको थियो। प्रवीन सातौँ ओभरको पहिलो बलमा रनआउट हुन पुगिन्। नेपालले अर्को विकेट पनि रनआउट भयो। 

कप्तान महतोसँग साझेदारी बढाउँदै लगेकी सोनी पाख्रिन पनि १२औँ ओभरको अन्तिम बलमा रनआउट भइन्। ५९ रन हुँदा तेस्रो विकेट गुमाएको नेपालले ७ रन थपेपछि चौथो विकेट गुमायो। ज्योत्स्निका मरासिनी शून्य रनमै क्याचआउट हुन पुगिन्। 

लगातार विकेट गुमाएपछि दबाबमा आएको नेपाली टोलीलाई कप्तान महतोले सम्हालिरहेकी थिइन्। त्यसपछि भने उनले सिमाना केसीसँग अविजित साझेदारी गरिन्। सिमानाले १२ बलमा १२ रनकै योगदान दिइन्। 

पाकिस्तानका फातिमा खान र महनुर जेबले समान १ विकेट लिए हार टार्न सकेनन्। 

अब नेपालले आफ्नो दोस्रो तथा समूहको अन्तिम खेलमा भारतको सामना गर्दै छ। भारत पनि यसअघि नै पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै सुपर ४ मा प्रवेश गरिसकेको छ। 

समूह ‘बी’बाट श्रीलंका सुपर चारमा प्रवेश गरिसकेको छ भने अब हुने बंगलादेश र मलेसियाबीचको विजेता पनि सुपर ४ मा प्रवेश गर्नेछ।

सुपर ४ मा समूह ‘ए’ का दुवै टोलीले समूह ‘बी’का दुवै टोलीसँग खेल्नेछन्। त्यसपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ। 

अब नेपालले फाइनल प्रवेशका लागि श्रीलंका र बंगलादेश वा मलेसियासँग खेल्नुपर्नेछ। समूह बीमा श्रीलंका र बंगलादेशको समान २ अंक छ। मलेसिया जितविहीन छ।

अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे बंगलादेशको पनि सुपर ४ को सम्भावना छ। पराजित भए पाँचौँ स्थानका लागि पाकिस्तानसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad