नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा स्थापना भएको नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्।
चन्द्र ढकालकै ग्लोबल आईएमई बैंकका पूर्वसीईओ रहेका बज्राचार्यलाई इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। उनीसँग करिब डेढ दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएको अनुभव छ।
गत वैशाखमा स्थापित नेपाल इन्भेष्टमेन्ट कम्पनीको सीईओमा नियुक्त भएसँगै अब कम्पनीको काम अगाडि बढ्ने देखिएको हो।
१० अर्बको पुँजीसहित स्थापित नेपाल इन्भेष्टमेन्ट कम्पनीले ठूला परियोजना, प्रसारणलाइन, ठूला बस्ती विकास, हाइवे, हाइड्रो पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने योजना छ।
सोहीअनुसार सम्बन्धित क्षेत्रका व्यवसायीहरुलाई कम्पनीको सञ्चालक बनाइएको छ। सञ्चालकमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा र नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेल छन् ।
देशैभरका साना तथा ठूला सबै किसिमका उद्योगी व्यवसायीले लगानी गर्न पाउने गरी पुँजी संरचनासहित स्थापित कम्पनीमा सीईओको नियुक्तिसँगै सञ्चालन अगाडि बढ्ने देखिएको हो। सञ्चालनमा आएसँगै कम्पनीले भावी दिनमा आईपीओ समेत जारी गर्ने उद्देश्य राखेको छ।
Shares

प्रतिक्रिया