खेल


कर्णाली र काठमान्डु अझै ‘रेडजोन’मा, पहिलो क्वालिफायर खेल्ने दुवै टोलीको टुंगो पनि भोलि मात्रै

कर्णाली र काठमान्डु अझै ‘रेडजोन’मा, पहिलो क्वालिफायर खेल्ने दुवै टोलीको टुंगो पनि भोलि मात्रै

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १७:३०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणबाट काठमान्डु गुर्खाज र कर्णाली याक्स मध्ये एक टोली बाहिरिने पक्का भएको छ। अब बाहिरिने एक टोली र पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीको टुंगो सोमबार बिहान हुने लिग चरणको अन्तिम खेलपछि मात्रै लाग्ने भएको छ।

समूह चरणबाट काठमान्डु र कर्णाली मध्ये एउटा टोली बाहिरिने पक्का भएपनि पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीको टुंगो अन्तिम खेलबाट लाग्नेछ। 

तर पहिलो क्वालिफायरमा सुदूरपश्चिम, जनकपुर र कर्णाली मध्ये दुई टोली हुनेछन्। 

प्लेअफमा भने जनकपुर, कर्णाली र काठमान्डु मध्ये एक टोलीले चितवनसँग भिड्ने निश्चित जस्तै छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमको सम्भावना बलियो छ। यता बाहिरिने जोखिममा सबैभन्दा धेरै काठमान्डु छ। 

तर अन्तिम खेलमा सुदूरपश्चिमसँग फराकिलो अन्तरमा कर्णाली पराजित भएर नेटरनरेटमा काठमान्डुभन्दा पछि परेमा कर्णाली बाहिरिने छ। 

त्यो अवस्थामा जनकपुर र सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्नेछन्। चितवन र काठमान्डुको प्लेअफ भिडन्त हुनेछ। 

कर्णाली र काठमान्डु प्लेअफ नपुग्ने जोखिममा रहिरहँदा चितवन राइनोजको भने प्लेअफमा स्थान सुरक्षित भइसकेको छ। काठमान्डु र कर्णालीभन्दा नेटरनरेटमा अगाडी रहेकाले अन्तिम खेलको नतिजाले चितवनलाई कुनै असर नपर्ने भएको हो। 

त्यो खेलको नतिजाले चितवनको प्लेअफमा हुने प्रतिस्पर्धी टोली टुंगो लाग्ने छ।

सोमबारको खेलमा कर्णाली विजयी भएमा चितवनले प्लेअफमा जनकपुरसँग खेल्ने सम्भावना बढी छ। 

तर त्यो खेलमा सुदूरपश्चिम विजयी भएमा जनकपुर र सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्नेछन्। यी दुई टोलीको लिग चरणको खेलमा सुदूरपश्चिमले फराकिलो अन्तरमा पराजित गरेको थियो। 

यस्तै लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर र चितवन भिडेका थिए। उक्त खेलमा महत्वपुर्ण जित निकाल्दै चितवनले पनि अन्तिम चारमा स्थान पक्का गरेको हो। आइतबार बिहानको खेलमा काठमान्डु विजयी भए पनि रनरेटमा अपेक्षित सुधार नहुँदा बाहिरिने खतरा नटरेको हो। 

यदि चितवनको भन्दा राम्रो रनरेट बनाएको भए काठमान्डुको पनि प्लेअफमा स्थान पक्का हुनेथियो। काठमान्डु रनरेटकै कारण सबैभन्दा पछाडी परेको हो। तर भोलिको खेलमा कर्णाली पराजित भए नेटरनरेट समेत घट्ने भएकाले काठमान्डुको पनि प्लेअफको सम्भावना कायम नै रहेको हो। 

लिग चरणका ६ खेलमा चितवनसँग मात्रै पराजित भएको सुदूरपश्चिम र जनकपुरको समान १० अंक छ। तर सुदूरपश्चिमले अन्तिम खेल खेल्न बाँकी नै छ। जनकपुर लिग चरणमा चितवन र सुदूरपश्चिमसँग पराजित भएको थियो। अब पुनः यी टोली मध्ये एक सँगै भेट हुने पक्का भएको हो। दुवै टोलीसँग फेरि खेल्ने सम्भावना पनि कायम छ। 

लिगको अंक तालिकामा तेस्रो र चौचो स्थानमा रहने टोलीको इलिमिनेटर खेल बुधबार बिहान ९ बजे हुनेछ। त्यसैदिन दिउँसो १ बजे पहिलो क्वालिफायर खेल हुनेछ। क्वालिफायरमा विजयी हुने टोली सिधै फाइनलमा पुग्नेछ। 

तर पराजित टोलीले पनि फाइनल प्रवेशका लागि पुनः मौका पाउने छ। पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरमा विजयी टोलीबिच दोस्रो क्वालिफायर खेल हुनेछ। यो खेल बिहीबार मध्यान्ह १२ः१५ बजेका लागि तय भएको छ। 

फाइनल खेल आगामी शनिबार मध्यान्ह १२ः१५ बजेनै त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad