नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले प्लेअफ सम्भावना रहेको काठमान्डु गुर्खाज र बाहिरिसकेको विराटनगर किंग्स भिडिरहेका छन्।
यो खबर तयार पार्दासम्म विराटनगरले काठमान्डुसामु जितका लागि १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगर १ बलअगावै १ सय १७ रन बनाउँदा अलआउट भयो।
राजेश पुलामीले बनाएको २५ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। राजेशले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
दीपक बोहोराले २० रन थपे। दीपकले २४ बलमा २ चौका प्रहार गरे।
स्कट इरासमस १५, बसिर अहमद १३ र निकोलस किर्तोनले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
विराटनगरलाई कम स्कोरमा रोक्न काठमान्डुका गेहार्ड इरासमसले ३ विकेट लिए। दिनेश कँडेलले २ विकेट लिए। साहब आलम, करण केसी र डान डाउथवेटले समान एक विकेट आफ्नो नाममा गरे।
काठमान्डुले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्लेअफमा स्थान बनाउन काठमान्डुले आजको खेल जित्नैपर्छ।
तर यत्तिले मात्र उसलाई प्लेअफ पुग्न पर्याप्त हुँदैन। यसका लागि अर्को खेलको नतिजा पनि निर्णायक बन्नेछ।
उता प्लेअफ दौडबाट बाहिरिसकेको विराटनगर भने सुखद् अन्त्यको योजनामा छ।
हेर्नुहोस् काठमान्डु-विराटनगर भिडन्तका तस्बिर-




Shares

प्रतिक्रिया