भारतीय अभिनेता शाहरूख खानको चर्चित फिल्म ‘बाजिगर’मा एउटा बहुचर्चित डायलग छ– ‘कभी कभी जितने के लिए कुछ हारना भी पड्ता है। और, हार कर जितनेवालाको बाजिगर कहेते हैँ।’ नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलका लागि नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण यस्तै भइदियो।
प्लेअफ यात्राका लागि जति प्रयत्न गरे पनि रोहितले कप्तानी गरेको लुम्बिनी लायन्स अन्ततः शुक्रबार एनपीएलबाट बाहिरियो। लुम्बिनीले सात खेलमध्ये ६ खेल हार्यो। तर, टिमले हार्दाहार्दै रोहितले भने यो एनपीएलमा दर्शकको मन जिते। राष्ट्रिय टिमबाट चयन भएका आठ मार्की खेलाडीमध्ये अधिकांशले एनपीएलमा कमजोर प्रदर्शन गरिरहँदा उनी भने यस्ता एक खेलाडी देखिए, जसले मैदानमा ‘अलराउन्ड’ प्रदर्शन गरे।
शारदा समूहले यो एनपीएलभर सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी यदि नेपालबाटै घोषित भए कार पुरस्कार दिने घोषणा गरेको छ। आगामी खेलहरूले यदि अंकगणित बदलिएन भने रोहितलाई पनि यो कारको हकदारका रूपमा हेरिएको छ। कारण, यो लिगको सबैभन्दा बढी रन ‘स्कोरर’ रोहित नै छन्। सात खेल खेल्दा उनले ११ छक्का, २४ चौका र दुई अर्धशतकसहित एनपीएलको बहिखातामा कुल २७९ रन जोडेका छन्।
त्यसपछि चौथो स्थानसम्म विदेशी खेलाडी नै छन्। विराटनगर किंग्सका बसिर अहमद १६८ रनसहित पाँचौ र सुदूपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी १४० रनसहित आठौँ स्थानमा छन्। १९१ रनसहित रोहितलाई पछ्याइरहेका छन् जनकपुर बोल्ट्सबाट खेलिरहेका अमेरिकी खेलाडी लाहिरु मिलान्था।
ब्याटिङमा मात्रै होइन, बलिङमा पनि रोहितको प्रदर्शन राम्रो छ। सात खेलमा उनले आठ विकेट लिएका छन्। त्यसैले त एनपीएलबाट बाहिरिएपछि पनि उनलाई भनिँदैछ– हारेर पनि जितेका बाजिगर।
जब सन्दीप लामिछाने जर्बजस्ती करणीको अभियोग लागेर कप्तानबाट निलम्बित भए, त्यसपछि रोहित सबैभन्दा कान्छो उमेरमा राष्ट्रिय टोलीको कप्तान बने। विश्वकप क्रिकेट लिग टुमा खराब अवस्थामा रहेको नेपालसामु वान डे मान्यता जोगाउनु चुनौती थियो। रोहितकै कप्तानीमा नेपालले १२ खेलमध्ये ११ खेल जितेर वान डेको मान्यता जोगाएको थियो।
तर, एनपीएलमा भने लुम्बिनीका लागि उनी एक्ला सिपाहीजस्तै भए। बाहिरबाट ल्याएका खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन्। जसकारण उत्कृष्ट प्रदर्शन दिँदा उनको टिमले ७ मध्ये ६ खेल हार्न पुग्यो।
यो एनपीएलमा खेल सकिएपछि पत्रकारहरूसँग कुरा गर्न उनी पटकपटक मिडिया बक्स आए। तर, उनको मुहारमा एकपटकबाहेक कहिल्यै खुसीको चमक देखिएन। पहिलो खेलमा विराटनगर किंग्सको सामना गरेको लुम्बिनीले १९२ रनको लक्ष्य दिएको थियो। रोहित एक्लैले दुई छक्का र चार चौकासहित सर्वाधिक ४६ रन बनाएका थिए। तैपनि कमजोर बलिङका कारण लुम्बिनी हार्न पुग्यो। त्यतिबेला निराश रोहित पत्रकारहरूसँग कमजोरी स्वीकार्दै भनेका थिए, ‘फिल्डिङ र बलिङमा हाम्रो समस्या भयो।’
त्यसपछि लुम्बिनी आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भयो। पोखराले यो खेलमार्फत एनपीएलमा नयाँ नयाँ कीर्तिमान राख्यो। पोखराका लागि आन्दे्रस गौसले १०४ रन हान्दै पहिलोपटक एनपीएलका लागि शतक हाने। यद्यपि यो खेलमा रोहितको प्रदर्शन सानदार थियो। पोखराविरुद्ध उनी एक्लैले ५९ बलमा चार छक्का र १० चौका हान्दै ९५ रन बनाएका थिए।
पोखरा एभेन्जर्ससँग हारेपछि रोहितले आफ्नो शतक हान्ने रहर अधुरै रहेको बताएका थिए।
‘हान्ने मन त थियो। ९० मा खेलिरहेको थिएँ। स्कोरबोर्डमा देखिरहेको थिएँ,’ पत्रकारहरूसँग उनले हाँस्दै भने, ‘तर, आकाश (पोखराका बलर)ले त्यो एरियामा बल फालेन क्या। आकाशले राम्रो बलिङ गर्यो। बलिङ विस्फोटक थिएन हाम्रो।’
उनले त्यो खेल हारेपछि मैदानमै गौसलाई उनको छक्का प्रहारबारे सोधेकोसमेत सुनाएका थिए।
‘मैले हौससँग छक्का कसरी हानिरहेका थियौ भनेर सोधेको थिएँ। जवाफमा उसले मैले होइन मेरो ब्याटले हो भन्यो,’ रोहितले भने।
त्यसपछि लुम्बिनीले आफ्नो तेस्रो खेल सुदूरपश्चिम रोयल्सविरुद्ध खेलेको थियो। यो खेलमा उनको प्रदर्शन राम्रो हुन सकेन। पाँच रनमै आउट भए उनी। तर, सुरुवाती खेलमा बलिङ नगरेका उनले यो खेलमा ४ ओभर बलिङ गरे। जसमा एक विकेट लिँदै २२ रनमात्रै खर्चिएका थिए।
यो खेलमा पनि लुम्बिनी पराजित भयो। सुदूरपश्चिमले दिएको १८८ को टार्गेट भेट्न नसक्दा लुम्बिनी ४५ रनले हार्न पुग्यो। प्रतिस्पर्धात्मक बनेको यो खेलमा जनकपुरले दिएको १३७ को टार्गेट भेटाउन नसक्दा लुम्बिनी मात्रै १ रनले हार्न पुग्यो। जबकि यो खेलमा पनि रोहितले ब्याटिङतर्फ सर्वाधिक ३५ रन बनाएका थिए। बलिङमा पनि चार ओभरमा २२ रन खर्चिंदै दुई विकेट लिन सफल भएका थिए।

लगातार खेल हारेपछि रोहितले पत्रकारहरूसँग आफ्नो टिमको बलिङ कमजोर भइरहेको स्वीकार गर्दै भनेका थिए– ‘अब बलिङका लागि हामीलाई बुमराह नै ल्याउनुपर्ने भयो!’
तर, पाँचौँ खेलमा आइपुग्दा उनको बोली फेरियो। चितवन राइनोजलाई ३३ रनले हराएपछि पत्रकारहरूले रोहितलाई सोधेका थिए– ‘बुमराहबिना नै जितियो नि!’
जवाफमा उनले हाँस्दै भनेका थिए, ‘आजको खेलमा बुमराह मै हुँ नि।’ अंग्रेजीमा भन्छन् नि, ‘कप्तान फ्रम दि फ्रन्ट।’
यो खेलमा अलराउन्ड प्रदर्शन गर्दै खेललाई जिताएनन् मात्रै लुम्बिनीका लागि उनी ‘लायन अफ दि डे’ नै देखिए। ब्याटिङतर्फ उनले सर्वाधिक ८० रन बनाए। बलिङमा पनि सर्वाधिक चार विकेट लिए। त्यो पनि चार ओभरमा जम्मा १७ रन खर्चिएर।
लगातारको चार हारपछि पहिलोपल्ट जितेका उनको मुहारमा त्यसदिन केही थोपा खुसी देखिए पनि टिमको समग्र परिणामलाई सम्झिएर पुर्ण सन्तुष्ट थिएनन्।
‘यो एनपीएल मेरो लागि राम्रो भइरहेको छ तर, पछिल्लो चार खेलमा टिमको लागि राम्रो भइरहेको छैन,’ उनले खुलेरै भनेका थिए, ‘आज त्यो लाइन क्रस भयोे। टिमले जित्दा खुसी लाग्छ। अहिले पनि टुर्नामेन्ट सकिएको छैन। आगामी दुई खेल जितियो भने आशा रहन्छ।’
त्यतिबेला सर्वाधिक रनकर्ता बनिसकेका उनलाई पत्रकारहरूले कार जित्ने हो भनेर सोधेका थिए। जवाफमा उनले भनेका थिए, ‘कार हेरौँ के हुन्छ, थाहा छैन। अहिलेसम्म केही सोचेको छैन। ब्याटिङ र बलिङ दुवै राम्रो भइरहेको छ, हरेक खेलमा। यो मेरो लागि राम्रो कुरा हो। खासमा हामीलाई जित चाहिएको थियो। त्यसैले जितेपछि भगवानलाई थ्यांक यु भनिरहेको थिएँ। अब अर्को खेल पनि जित्ने हो। ’
तर, रोहितको यो लक्ष्य अधुरै रह्यो। लुम्बिनीले काठमान्डु गुर्खाजविरुद्धको छैटौँ खेल पनि १८ रनले हार्यो। रोहितले यो खेलमा राम्रो प्रदर्शन गर्न सकेनन्। ८ रनमै आउट भए। दुई ओभर बलिङ गरेका उनी १७ रन खर्चिंदै विकेटविहीन भए। यही हारपछि लुम्बिनीको प्लेअफ यात्राको टुंगो लागिसकेको थियो।
हारपछि रोहितले यो लिगमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको तर अर्कोपटक तयार भएर आउने बताए।
‘टिम क्षमताअनुसार डेलिभर गर्न सकेनौँ,’ उनले भने, ‘चाहिएको बेला ब्याटिङ प्रदर्शन गर्न सकेनौँ। सुरुवाती समयमा बलिङमा चुक्यौँ। अब अर्को वर्ष तयार भएर आउनेछौँ।’
प्लेअफबाट बाहिरिने पक्का हुँदाहुँदै शुक्रबार लुम्बिनीले अन्तिम खेल कर्णाली याक्ससँग खेल्यो। १२९ रनको टार्गेट पछ््याएको उसको सुरुवाती प्रर्दशनले जितको संकेत देखाउँदा–देखाउँदै पछि ब्याटिङ खस्किएपछि ५ रनले हार्न पुग्यो लुम्बिनी। अन्तिम खेलमा रोहित १० रनमै आउट भए। बलिङमा भने दुई ओभरमा ६ रन खर्चिदै १ विकेट लिए।
तर, अन्तिम खेलमा हार व्यहोरेपछि रोहित मिडिया बक्समा आएनन्। सायद अब उनीसँग भन्नलाई थप शब्द थिएनन्। त्यसैले होला, कर्णालीविरुद्ध तीन विकेट लिएका टिमका विकास आग्रीलाई अगाडि सारे।
भारतमा क्रिकेटका राजा भनेर चिनिने विराट कोहलीले सन् २००४ यता आयोजित १८ वटै इन्डियन प्रिमियर लिग (आईपीएल)को संस्करणमा रोयल च्यालेन्जर्स बैंगलोरका तर्फबाट खेले। हरेक संस्करणमा उनको प्रदर्शन सानदार नै रह्यो। आईपीएलमा सबैभन्दा बढी रन उनैले बनाए। १८ संस्करण गरेर कुल ८ हजार चार रन हानेका छन् उनले। तर, विडम्बना अहिलेसम्म उनले आईपीएलको ट्रफी जित्न सकेका छैनन्।
यता एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रर्दशनका बाबजुद रोहितको टिमको प्रदर्शनलाई लिएर नेपाली प्रशंसकहरू यतिखेर कोहलीलाई सम्झिरहेका छन्। र, भनिरहेका छन्– ‘यसपटक रोहितको लुम्बिनी कोहलीको आरसीबीजस्तै भयो।’
Shares

प्रतिक्रिया