खेल


विराटनगरको दोस्रो जितले चितवनलाई धक्का

विराटनगरको दोस्रो जितले चितवनलाई धक्का

लक्ष्मी जि.सी
मंसिर २८, २०८१ शुक्रबार १६:२२, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको दोस्रो जितले चितवन राइनोजको प्लेअफ यात्रामा धक्का लागेको छ। 

शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपीएलमा दोस्रो जित निकालेको हो। 

शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ। विराटनगरले दुई खेलमा जित र चार खेलमा हार भोगेको छ। 

विराटनगरले एनपीएलको आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग खेल्दैछ। शीर्ष चारको दौडमा रहेको काठमाण्डु विराटनगरलाई हराउने रणनितिमा हुनेछ। 

सो खेलमा विराटनगरले जित निकाले पनि विराटनगर शीर्ष चारमा पुग्न कठिन छ। सो खेलमा विराटनगरलाई जित निकालेर मात्र पुग्दैन अन्य खेलमा काठमाडौ र पोखराको अन्य खेलको नतिजा पनि महत्वपुर्ण हुने रहनेछ। काठमाडौ र पोखरा सँगै चितवनको खेलको नतिजा र नेट रनरेट पनि विराटनगरका लागि उत्तिकै आवश्यक छ। 

यता विराटनगरसँगको हारले चितवनको प्लेअफ यात्रामा भने धक्का पुगेको छ। चितवनले लिगको आफ्नो अन्तिम खेलमा भोलि शनिबार जनकपुर बोल्ट्सविरुद्ध खेल्दैछ। जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। एनपीएलमा उपाधि दाबेदार टोलीको रुपमा रहेको बलियो जनकपुरलाई हराउन चितवनलाई केही कठिन भने पक्कै पर्नेछ। 

एनपीएलको ६ खेलमा ३ खेलमा जित र ३ खेलमा नै हार भोगेको चितवन ६ अंकमा तालिकाको चौथो स्थानमा यथावत छ। चितवनले अन्तिम खेलमा पनि हार भोगेको अवस्थामा काठमाण्डु, पोखरा र कर्णालीको नतिजाले पनि असर गर्नेछ। 

विराटनगरले दिएको १ सय ८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको चितवनले निर्धारित २०  ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो।

अमर राउटेलाले सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा तेस्रो पराजय भोग्न बाध्य भयो। राउटेला लोकेश बमको बलमा क्रिस सोलेको हातबाट क्याच आउट हुन पुगे। 

ओपनर सन्तोष कार्की २८ रनमा सन्दीप लामिछानेको बलमा क्याच आउट भए। कप्तान कुशल मल्ल २५ रन बनाउँदा क्रिस सोलेको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। रवि बोपारा २० रन बनाउँदा सुवास भण्डारीको बलमा बोल्ड भए। 

विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट झारे। क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बलमे समान एक विकेट आफ्नो नाममा पारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१  रनको योगफल तयार पारेको थियो।  

बसिर अहमद ६८ र राजेश पुलामी ३३ रनमा अविजित रहे। मध्यक्रममा ब्याटिङमा आएका बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए। 

पाचौँ विकेटका लागि मार्टिन गप्टील र बसिर अहमदले ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङस् उकासेका थिए। विराटनगर एक समय ६.२ ओभरमा ४–३३ को अवस्थामा थियो। 

ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पेभेलियन फर्के। ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गप्टील कुशल मल्लको बलमा बोल्ड आउट भए। चितवनविरुद्ध विराटनगरका गप्टील, बसिर र राजेश मात्र चले।  

लोकेश बम शुन्य रनमा नै रिजन ढकालको बलमा बोल्ड आउट भए। दिपक बोहोरा ४ रनमा रिजन कै बलमा बोल्ड हुन पुगे। 

स्कट इडवार्ड शुन्य रनमा पेभेलियन फर्के। निकोलस किर्तोन ८ रन बनाउँदा बसिर हमिदको बलमा एल्बीडब्लु धरापमा परे। 

चितवनका लागि रिजन ढकालले दुई विकेट लिए। सोहेल तनविर, बसिर हकिद र कुशल मल्लले समान एक विकेट लिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad