नेपाल सुपर लिग फुटबलको तेस्रो संस्करण आगामी चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसईएम) र अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी चैत १६ देखि एनएसएलको तेस्रो संस्करण गर्ने घोषणा गरेका हुन्।
सुपर लिगका प्रबन्धनिर्देशक श्रेयांश कार्कीले तेस्रो संस्करणलाई लिएर उत्साहित रहेको बताए।
‘नेपाली फुटबल पारखीमाझ तेस्रो संस्करणको एनएसएल आयोजना गर्न पाउँदा खुसी छौँ’, उनले भने, ‘यो हरेक वर्ष हाम्रा खेलाडी, क्लब र सरोकारवालाको बहुप्रतीक्षित प्लेटफर्म हो। यसले नेपालमा फुटबलको मानक अभिवृद्धिमा मुख्य भूमिका निर्वाह गर्छ।’
तेस्रो संस्करणको लागि तयारीका काम सुरु भइसकेको उनको भनाइ छ।
त्यसैगरी एन्फाका महासचिव किरण राईले नेपाली फुटबलको विकासमा एनएसएलले ठूलो योगदान दिने बताए।
‘नेपाल सुपर लिग नेपालमा फुटबल विकासका लागि आवश्यक छ र यसको फुटबल क्यालेन्डरमा छुट्टै स्थान छ’, उनले भने।
सुपर लिग सुरु हुनु ४ दिनअगाडि नेपालले एएफसी क्वालिफायर्समा मलेसियाविरुद्ध खेल्दै छ। त्यसकारण पनि सुपर लिगको तेस्रो संस्करण उपयुक्त समयमा हुनलागेको उनले बताए।
Shares

प्रतिक्रिया