नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेखले लगातारको जितपछि टोली उत्साहित भएको बताएका छन्।
आइतबार लुम्बिनी लायन्समाथि कठिन जित हात पारेपछि उनले पत्रकारसँग कुरा गर्दै टोली एकजुट हुँदा नतिजा पनि राम्रो भएको प्रतिक्रिया दिए।
आफ्नो चौथो खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गरेको छ। यो नतिजाले जनकपुरको अघिल्लो चरण पुग्ने सम्भावना करिब निश्चित भएको छ। चार हारले लुम्बिनीको सम्भावना पनि लगभग टुंगिएको छ। गणितीय रूपमा झिनो सम्भावना देखिए पनि बाँकी टोलीको नतिजा उसको अनुकूलमा आउनुपर्छ।
उक्त खेलबारे आसिफले भने, ‘यस्तो बेलामा ६ बलमा ७ रन बनाउन पनि गाह्रो हुन्छ भन्ने हामीलाई थाहा थियो। विकेट निक्कै स्लो थियो। राइट ह्यान्डेड ब्याटर आउनेबित्तिकै स्पिनरलाई लगाएर हामी जित्न सकिन्छ भन्ने लागेको थियो।’
लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि जनकपुरले पहिले ब्याटिङ गरेको थियो।
‘फस्ट इनिङमा विकेट निक्कै स्लो हुन्छ। हाम्रो योजना भनेकै पावर प्लेलाई सदुपयोग गर्ने र बढीभन्दा बढी रन बनाउने थियो। बीचमा स्पिनर आउनेबित्तिकै गाह्रो हुन्थ्यो। पावर प्लेमा राम्रो सुरुवात भयो तर मिडिल अर्डर फिनिसिङमा त्यति राम्रो हुन सकेन,’ आसिफले थपे।
यसअघिका खेल जितिरहँदा पनि मिडिल अर्डर जुनसुकै बेला चल्न सक्दैन भन्ने आफूहरूलाई लागेको उनले सुनाए।
सकारात्मक नतिजाले टिमको माहोल राम्रो भएको र फिल्डदेखि फिल्डबाहिर पनि खेलाडी एकजुट रहेको उनले बताए।
यसअघि फिल्डिङमा बसेका आसिफ यस खेलमा विकेट किपरको भूमिकामा थिए।
यसबारे पत्रकारको जिज्ञासामा उनले भने, ‘मलाई टोलीले जुन भूमिका दिन्छ, त्यही निर्वाह गर्छु। ओपनर ब्याटरका रूपमा राम्रो गर्न कोसिस गरिरहेको छु। तर सोचेजस्तो हुन सकेको छैन।’
Shares

प्रतिक्रिया