कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
बुधबारको पहिलो खेलमा कर्णालीलाई ३ विकेटले पराजित गर्दै काठमाडौले पहिलो जित दर्ता गर्दा कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको हो। कर्णाली पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।
पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमाडौले दोस्रो खेलमा आएर पहिलो जित निकालेको हो।
कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।
काठमाडौँका सुमित महर्जन ४० र साहव आलम शून्य रनमा नटआउट रहे। सुमितले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
छैटौ विकेटका लािग सुमित महर्जन र कप्तान करण केसीले ४८ रनको साझेदारी गरे। करण २८ रन बनाउँदा सोमपाल कामीको बmमा देव खनालको हातबाट क्याच आउट भए।

काठमाडौका लागि जेहार्ड इरासमसले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे। माइकल लेविट २२ रन बनाउँदै क्याच आउट भए।
भीम सार्की ९, शंकर राना ६ र स्टेफन इस्कीनाजी ३ रन बनाउँदै पेभेलियन फर्के।
कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन शर्माले समान एक विकेट झारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको थियो।
शिखर धवन ७२ र जिसन मक्सुद १४ रनमा अविजित रहे। धवनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। धवनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।

सुस्त सुरुवात गरेको कर्णालीले अन्तिम तीन ओभरमा आक्रमक प्रर्दशन गरेको थियो। चाडविक वाल्टन २१ रन बनाउँदै जेहार्ड इरासमसको बलमा करण केसीको हातबाट क्याच आउट भए।
बाबर हायातले १३ र गुल्सन झाले १२ रन थपे। अर्जुन घर्ति ४ रन बनाउँदै बोल्ड आउट भए। ओपनर देव खनाल १ रन बनाउँदा करण केसीको बलमा एलबीडब्लु धरापमा परे।
काठमाडौका जेहार्ड इरासमसले २ विकेट लिए। करण केसी, नाथन साउटर र दिपेश कडेलले समान एक विकेट झारे।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। एनपीएलमा विराटनगरले तेस्रो खेल खेल्न लागेको हो। लुम्बिनीको भने पहिलो खेल हो।

Shares

प्रतिक्रिया