अर्जेन्टिना, लिभरपुल तथा बार्सिलोनाका पूर्वमिडफिल्डर जाभियर मास्चेरानो मेजर लिग सकर क्लब इन्टर मियामीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
रिभर प्लेट र वेस्ट ह्यामबाट पनि खेलेका ४० वर्षीया मास्चेरानोले मियामीसँग तीन वर्षको सम्झौता गरेका छन्।
उनी २०२७ सिजनको अन्त्यसम्म रहने सम्झौतामा हस्ताक्षर गरेका छन्। उनले अब जेरार्डो मार्टिनोको स्थान लिनेछन्। मार्टिनोले गतसाता मात्रै आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए।
मार्टिनोको राजीनामाले अर्जेन्टिना र बार्सिलोनाका पूर्व सहकर्मी लियोनल मेस्सी र मास्चेरानोको पुनर्मिलन गराएको छ। मेस्सी जुलाई २०२३ देखि मियामीमा सामेल भए।
मियामीमा हस्ताक्षर गरेपछि मास्चेरानोले भने, ‘इन्टर मियामी जस्तो क्लबको नेतृत्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो। र यो विशेषाधिकारको अधिकतम उपयोग गर्न प्रयास गर्नेछु।’
मास्चेरानोले आफ्नो क्लब करियरमा बार्सिलोनाबाट पाँच ला लिगा उपाधि र दुई च्याम्पियन्स लिगसहित २१ ट्रफी जितेका छन्।
मास्चेरानोले अर्जेन्टिनाका लागि १४७ खेल खेले। मेस्सी पछि आफ्नो देशको इतिहासमा दोस्रो सबैभन्दा धेरै खेल खेलेका छन्। उनले चार विश्वकप खेल्दा २०१४ को विश्वकपमा फाइनलमा पुगेर जर्मनीसँग पराजित भएका थिए।
२०२० मा सन्यास लिएपछि मास्चेरानो अर्को वर्ष अर्जेन्टिनाको अन्डर–२० टोलीको प्रशिक्षक नियुक्त भएका थिए।
Shares

प्रतिक्रिया