खेल


यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौँ : शक्ति गौचन

यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौँ : शक्ति गौचन

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार २१:४, काठमाडौँ

नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले आगामी यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन आफ्नो टोली तयार रहेको बताएका छन्।

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी मंसिर १४ देखि २३ गतेसम्म हुने एसिया कपमा भाग लिँदै छ। उक्त प्रतियोगितामा सहभागी हुन लागेको टोलीको मंगलबार भएको बिदाइ कार्यक्रममा गौचनले धेरै क्षमतावान् युवा खेलाडी रहेकाले नेपाली टोलीको छनोट गर्न नै कठिन भएको अनुभवसमेत सुनाए।

गौचनले भारतको कर्नाटकको टोलीसँगको मैत्रीपूर्ण खेल आफ्नो टोलीको लागि महत्त्वपूर्ण रहेको पनि उल्लेख गरे। नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका कप्तान हेमन्त धामीले पनि भारतीय टोलीसँग भएको अभ्यास खेल उपयोगी रहेकाले त्यसका लागि क्यानलाई धन्यवाद दिए।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार पत्रकार सम्मेलन गर्दै एसीसी यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का र सदस्य दिवाकर घलेलगायतले टोलीलाई बिदाइ गरेका थिए।

राखेप सदस्यसचिव घिसिङले नेपाली क्रिकेट टोलीले लगातार प्राप्त गरेको उचाइसँगै युवा टोलीबाट पनि सबैले अपेक्षा राखेको धारणा राखे। छोटो समयको तयारीमा क्यानले व्यवस्थापन गरेको क्याम्प महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

उनले उमेर समूहको क्रिकेटमा राखेपले बजेट दिने गरेको भए पनि त्यो पर्याप्त नरहेकाले निजी क्षेत्रको सहयोग तारिफयोग्य रहेको विचार राखे।

क्यानका सचिव पारस खड्काले आगामी यु–१९ विश्वकपमा छनोट हुनका लागि एसिया कप महत्त्वपूर्ण रहेको बताए। उनले नेपाली क्रिकेटको भविष्य पनि युवा टोलीसँग जोडिएकाले बिनादबाब खेल्न सुझाव दिए। पूर्वकप्तान खड्काले नेपाली टोलीले आफ्नो क्षमतालाई तिखारेर राम्रो प्रदर्शन गर्ने विश्वास पनि गरे।

एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। यस समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्नेछ। क्यानले शक्ति गौचनलाई मुख्य र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।

हेमन्तको कप्तानीमा रहेको नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad