खेल


सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता

सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता

नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १८:३५, काठमाडौँ

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। उनले सुनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता समेत बढाएका छन्।

सुनिल ३-अन्डर ६९ को स्कोरमा समग्रमा ७-अन्डर १३७ को नतिजा सहित दोस्रो स्थानमा छन्। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले २-अन्डर ७० स्कोर गर्दा समग्रमा ६-अन्डर १३८ सहित तेस्रो स्थानमा तल झरे। एमेच्योर राहुल विश्वकर्मा ३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर १३९ सहित चौथो स्थानमा उक्लिए। उनी एमेच्योरतर्फ दोस्रो दिन पनि शीर्षस्थानमा कायमै रहे।

३-अन्डर ६९ को स्कोरमा निरज तामाङ समग्रमा ३-अन्डर १४१ सहित पाँचौ स्थानमा छन्। एमेच्योर सदभाव आचार्य समग्रमा १-अन्डर १४३ सहित छैटौं स्थानमा उक्लिए। उनी एमेच्योरतर्फ दोस्रो स्थानमा छन्।

इभन-पार ७२ सहित समग्रमा इभन-पार १४४ को नतिजा निकालेका  राजेन्द्र थापा मगर सातौं स्थानमा रहे। समग्रमा १-ओभर १४५ सहित जयराम श्रेष्ठ र एमेच्योर विजय श्रेष्ठ आइनहाउसले संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरू दुवैले आज इभन-पार ७२ को स्कोर दर्ज गरे। भुवन कुमार रोक्का समग्रमा २-ओभर १४६ सहित दशौं स्थानमा छन। उनले आज ३-ओभर ७५ को स्कोर बनाए।

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन पनि अनुभवी तोरणको प्रदर्शन सानदार रह्यो। पहिलो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि ११औं, १२औ, १३औं र १६औं होलमा एक-एक सट बचाए। तर १०औं र १५औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

सुनिल केसीले एकरूपताको प्रदर्शनलाई कायमै राखे। तेस्रो होलको बोगीका विरूद्ध चौथो, आठौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा खेले। यसपछि १५औं होलमा बर्डी प्रहार गर्दा बाकी सात होलमा पार बचाउँदै ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

दाबेदार नेपाल नम्बर एक भुवनले तेस्रो र सातौं होलको बर्डीमा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। ब्याक नाइनमा भने संघर्ष गरे। ११औं, १४औं र १५औं होलमा बोगी खेपे। १२औं, १६औं र १७औं होलको बर्डीको मद्दतमा ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे।

एमेच्योर राहुलले फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३६ मा सकाए। उनले तेस्रो, सातौं, आठौं, बार्हौं, सोर्हौं र अठारौं होलमा गरी कुल ६ बर्डी प्रहार गरे। तर १४औं होलमा डबल बोगी र १५औं होलमा बोगी खेपे। उनले एमेच्योरतर्फ सदभावलाई ४ स्ट्रोकले पछि पारेका छन।

३६ होलको समाप्तीमा १३-ओभर १३७ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २७ गल्फरले कट बनाएका छन्।

प्रो गल्फर रवि खड्का, प्रदीप कुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, कृष्णमान राजबाहक, दीपक मगर, दिनेश प्रजापति, धन थापा, सञ्जय लामा, रमेश अधिकारी, टंक बहादुर कार्की, सूर्य प्रसाद शर्मा, रामकृष्ण श्रेष्ठ, कुमार कामी र कृष्ण कालीराज सुनारले कट बनाए। युवा प्रो युवराज भजेल र भेट्रान प्रो रामे मगरले भने कट बनाउन सकेनन्।

एमेच्योरतर्फ सुरेन्द्र फुयाल, गजेन्द्र गुरूङ र शिवराम पौडेलले अन्तिम ३६ होलको प्रतिस्पर्धामा स्थान सुरक्षित गरे।

चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad