नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीहरूले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
आज संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यू-१९ महिला क्रिकेट टोलीलाई रु १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको आईसीसी यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो।
नेपाली यू-१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ। यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरिसकेको छ।
यू-१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदै छ। त्यसअघि नेपालले यू-१९ एसिया कप खेल्नेछ। आगामी मङ्सिर ३० गतेदेखि मलेसियामा हुने एसिसी यू-१९ महिला एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ।
एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन्भने समूह ‘बी’मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन्। नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ। रासस
Shares

प्रतिक्रिया