युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दै छ।
यूएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्ने भएको हो।
यही कात्तिक २१ गतेदेखि जारी एसिया छनोटमा नेपालको यो छैटौँ अर्थात् अन्तिम खेल हो। एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ। जसमध्ये चार खेलमा जित र एक खेलमा हार भएको छ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले हराएको थियो भने दोस्रोमा कुवेतलाई एक सय आठ रनले पराजित गरेको थियो।
तेस्रो खेल नेपालले घरेलु टोली यूएईसँग खेलेको थियो। उक्त खेलमा नेपाल १३ रनले हारेको थियो।
आइतबार भएको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो हराएको थियो।
छनोट खेलमा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्।
हालसम्म पाँच खेल खेलेको यूएईले सबैमा जित हासिल गरेको छ।
यूएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल आठ अङ्कसहित दोस्रो स्थानमा छ।
यस्तै थाइल्यान्ड दुई अङ्कसहित तेस्रो र कुवेत अंकविहीन हुँदै तालिकाको अन्तिममा छ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ।
नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा यूएईलाई जित्नाका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ।
Shares

प्रतिक्रिया