खेल


एनपीएलका लागि लुम्बिनी लायन्समा अनुबन्ध भए आईपीएल स्टार उन्मुक्त

एनपीएलका लागि लुम्बिनी लायन्समा अनुबन्ध भए आईपीएल स्टार उन्मुक्त

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १६:१२, काठमाडौँ

भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन्। चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ।

उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए। उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए। उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा खेल्दै आफ्नो ब्याटिङ कलाको प्रदर्शन गरेका छन्।

हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। चन्दको लुम्बिनी लायन्समा आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास छ।

यस बारेमा आफ्नो उत्साह व्यक्त गर्दै उन्मुक्त चन्दले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु। विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु। मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु।’

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ। उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौँ।’

उन्मुक्त चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो। उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन्। साथै लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७ शतक समेत समावेश छन्। 

टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ।

नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरु भई पौष ६ सम्म चल्नेछ जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन्। नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरूको मिश्रणले यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने भएको छ।

उन्मुक्त चन्द जस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पु¥याउने विश्वास लुम्बिनी लायन्सको रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad