साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा भुटानविरुद्ध बंगलादेशले ५–१ को अग्रता बनाएको हो।
बंगलादेशका लागि तोहुरा खातुन र सविना खातुनले समान दुई गोल गरे। रितु पुर्णा चक्माले एक गोल गरिन्।
पहिलो हाफको सातौँ मिनेटमा रितु पुर्णा चक्माले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भयो।
खेलको १५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। डीबक्स एरिका नजिक उनले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरिन्।

खेलको २३ औँ मिनेटमा भुटानकी नाम्गेद डेमाको प्रहार बंगालदेशकी गोलरक्षकले पन्च गर्दै जोगाइन्।
खेलको २६ औँ मिनेटमा सविना खातुनको गोलमा बंगालदेशले ३–० को अग्रता बनायो। डिबक्स भित्रबाट मोनिका चक्माको पासमा सविनाले बललाई पोष्टको जाली चुमाईन्।
खेलको ३५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगालदेशले ४–० को अग्रता बनायो।

खेलको ३७ औँ मिनेटमा कप्तान सविनाको गोलमा बंगलादेशले पहिलो हाफमा नै ५–० को फराकिलो अग्रता बनाएको थियो। सविनाले भुटानका दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई गोलरक्षकलाई समेत छलाउँदै बललाई उत्कृष्ट फिनिसिङ दिईन्।
खेलको ४१ औँ मिनेटमा डेकी लाजोमको गोलमा भुटानले खेललाई ५–१ को अवस्थामा ल्यायो। छिरिङ लादेनको क्रसमा डेकीले बंगलादेशकी किपर बिट भएको मौका छोप्दै गोल गरेकी थिईन्।
साफ च्याम्पियनसिपमा भुटानले बंगालदेशको पोष्टमा पहिलो पटक गोल गरेको हो।
साफको अघिल्लो संस्करणको सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको थियो।

Shares

प्रतिक्रिया