साफ महिला च्याम्पियनसिपमा भुटानले पहिलो पटक बंगलादेशविरुद्ध गोल गरेको छ।
काठमाडौमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो हाफ जारी रहँदा भुटानले साविक विजेता बंगालदेशविरुद्ध गोल फर्काएको छ।
खेलको ४१ औँ मिनेटमा डेकी लाजोमको गोलमा भुटानले खेललाई ५–१ को अवस्थामा ल्यायो।
पहिलो हाफमा नै ५ गोलले पछि परेको भुटानले एक गोल फर्काएको हो। छिरिङ लादेनको क्रसमा डेकीले बंगलादेशकी किपर बिट भएको मौका छोप्दै गोल गरेकी थिइन्।
साफ च्याम्पियनसिपको पाचौँ भेटमा आएर भुटानले बंगलादेशविरुद्ध गोल गरेको हो।
यसअघिका चार भेटमा भुटानमाथि बंगलादेश हावी हुँदै आएको थियो। सन् २०१० मा भएको साफ च्याम्पियनसिपको पहिलो संस्करणमा बंगलादेश र भुटान एकै समूहमा थिए। समूह चरणमा भएको भेटमा भुटान बंगलादेशसँग ९–० गोलअन्तरले पराजित भएको थियो।
सन् २०१२ मा भएको दोस्रो संस्करणमा पनि यी दुई टोली एकै समूहमा थिए। त्यो भेटमा बंगलादेशले भुटानमाथि १–० को साघुँरो जित निकालेको थियो।
सन् २०१४ र २०१६ मा भने फरक समूहमा रहेका यी दुई टोली भेट हुन पाएनन्। सन् २०१९ मा नेपालको विराटनगरमा भएको भेटमा भने भुटान बंगलादेशसँग २–० ले पराजित भएको थियो।
सन् २०२२ मा पहिलो पटक समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको भुटान बंगलादेशसँग ८–० को फराकिलो हार व्यहोर्दै अन्तिम चारबाट बाहिरिएको थियो।
Shares

प्रतिक्रिया