खेल


विश्वकप लिग-२ : अमेरिकालाई घरेलु मैदानमै हराउने दाउमा नेपाल

विश्वकप लिग-२ : अमेरिकालाई घरेलु मैदानमै हराउने दाउमा नेपाल

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार ७:१५, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो पहिलो खेलमा आज नेपाली राष्ट्रिय क्रिकेट टोली र अमेरिका भिड्दैछन्। 

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरि स्टेडियममा हुने खेल राति सवा ९ बजे सुरु हुनेछ। 

सिरिजमा पहिलो खेल खेल्न लागेको नेपाली टोली सुःखद सुरुवात गर्ने योजनामा छ। 

उता आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग १० विकेटले पराजित भएको अमेरिका नेपाललाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ। 

क्यानडामा सिरिज खेलेर अमेरिका पुगेको नेपाली टोली त्यहाँ तीन खेलको टी–२० सिरिज खेलेको थियो। तीन खेलको सिरिजमा नेपालले क्लीनस्विप गरेको थियो। तर अमेरिकासँगको एक दिवसीय अभ्यास खेलमा भने नेपाली टोली पराजित भएको थियो। 

पछिल्लो समय ओडीआईमा खराब प्रर्दशन गर्दै आएको नेपाली टोली पुराना नतिजालाई बिर्सेर सिरिजमा नयाँ सुरुवात गर्न चाहन्छ। सिरिजकै लागि लेग स्पीनर सन्दीप लामिछाने अमेरिका पुगिसकेका छन्। 

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेको छ। 

हेड टु हेड
नेपाल र अमेरिकाको पछिल्लो पाँच खेललाई हेर्ने हो भने दुवै टोलीको स्तर एकै देखिन्छ। यद्यपी तुलनात्मक रुपमा नेपाली टोली अमेरिकाभन्दा केही बलियो देखिन्छ। 

ओडीआईमा अहिलेसम्म नेपाल र अमेरिका पाँच पटक भेट भएका छन्। यी पाँच भेटमा नेपाल र अमेरिकाले समान दुई पटक नतिजा आफ्नो पक्षमा पारेका छन्। 

पछिल्लो पटक सन् २०२३ मा भएको आईसीसी विश्वकप छनोटको खेलमन नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो। 

अंक तालिकाः 
आईसीसी विश्वकप लिग–२ मा ८ खेल खेलिसकेको नेपाली टोलीले एक् खेलमा जित निकालेको छ। 

लिगका ८ खेलमा ६ खेलमा हार भोगेको नेपाल ३ अंकमा तालिकाको सातौँ स्थानमा छ। 

नेपालभन्दा एक खेल कम खेलेको यूएई २ अंकमा पुछारमा छ। 

लिग–२ मा सबैभन्दा धेरै खेल खलेको क्यानडा शीर्ष स्थान र नामिबिया पाँचौँ स्थानमा छन्। लिगका १२ खेलमा ८ खेलमा जित र ४ खेलमा हार भोगेको क्यानडा १६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 

लिगमा ९ खेलेको अमेरिका ६ खेलमा जित र ३ खेलमा हार भोग्दै १२ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान १२ अंक भएपनि अमेरिकाभन्दा एक खेल कम खेलेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ। लिगमा ८ खेलेको स्कटल्यान्ड ५ खेलमा जित र २ खेलमा हार भोग्दै ११ अंकमा तालिकाको चौथो स्थानमा छ। १० अंकमा नामिबिया पाचौँ र ६ अंक भएको ओमान छैटौँ स्थानमा छ। 

लिग–२ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीः 
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी।

रिजर्भ प्लेयरः देव खनाल र सागर ढकाल 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad