कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकप २०२६ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ। बुधबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले बोलिभियालाई ६–० को फराकिलो अन्तरले हराएको हो।
अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक गर्दा लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थिएगो अलमाडाले एक एक गोल गरे।
खेलको १९ औं मिनेटमा लौटारो मार्टिनेजको पासमा सुरुवाती अग्रता दिलाएका मेस्सीले ४३ औं मिनेटमा मार्टिनेजको गोलमा पास मिलाइदिए।
मेस्सीकै पासमा जुलियन अल्भारेजले पहिलो हाफको अतिरिक्त समयमा ३–० को अग्रता दिलाए। अर्जेन्टिनाले बाँकी ३ गोल दोस्रोहाफमा थप्यो।
६५ औं मिनेटमा मैदान प्रवेश गरेका अलमाडाले ६९ औं मिनेटमा गोल गरे। बाँकी दुई गोल मेस्सीले थपे। ८४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले ५–० को अग्रता बनायो। त्यसको दुई मिनेटपछि मेस्सीले ह्याट्रिक पूरा गरे।
यो जितसँगै १० खेलमा २२ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनोट तालिकाको शीर्षस्थानमा छ। समान खेलबाट कोलम्बिया १९ अंक र उरुग्वेले १६ अंक जोडेको छ। चौथो स्थानको ब्राजिलको पनि समान १६ अंक नै छ।
बुधबार बिहान नै भएको खेलमा कोलम्बियाले चिलीलाई ४-० ले, पाराग्वेले भेनेजुएलालाई २–१ ले हराउँदा उरुग्वे इक्वेडरसँग गोलरहित बराबरी खेल्यो। ब्राजिलले पेरुलाई ४-० ले हरायो।
Shares

प्रतिक्रिया