मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा झापा–११ लाई पराजित गर्दै मनाङ अन्तिम ४ मा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मनाङले १ गोल गर्दै अग्रता बनाएको थियो। खेलको ७५औँ मिनेटमा अन्जन विष्टले गरेको गोल नै मनाङका लगि निर्णायक बन्यो।
खेलको ११औँ मिनेटमा मनाङका अन्जन विष्टले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। १७ औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा आदित्य चौधरीको हेडरलाई झापाका गोलरक्षक राजकुमार लिम्बूले बचाए। २९औं मिनेटमा निशान लिम्बुले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेको अवस्थामा गरेको प्रहारले पोस्टको दिशा लिन सकेन।

लगातार दवाव बनाएको मनाङ ३३औं मिनेटमा पुनः अर्को अवसरबाट चुक्यो। गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा फरवार्ड विमल रानाले सट प्रहार गर्न सकेनन्। ४२ औं मिनेटमा विमलको फ्लिक हेडरमा दयानन्द सिंहले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको भली प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो।
इन्जुरी समयको पहिलो मिनेटमा अन्जनको प्रहार गोलरक्षक राजकुमारले बचाउँदा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। आजको खेलमा म्यान अफ द म्याच मनाङका अन्जन विष्ट भए। तेस्रो क्वार्टरफाइनलमा सोमबार रुस्लान थ्रिस्टार र गान्तोक सिटी क्लब भारतबीच खेल हुनेछ।
२००औँ खेल
सहारा क्लबले आज कीर्तिमानी २ सयौं खेलको कोशेढुङगाा पार गरेको छ। २०५८ सालमा क्याराभान गोल्डकपको नाममा सुरु गरेको प्रतियोगिताको २००औं खेलमा मनाङ र झापा–११ भिडेका थिए।
जुन खेल मनाङले १–० ले आफ्नो पक्षमा पारेको छ। मनाङले क्याराभान गोल्डकपको पहिलो खेलमा सहारा क्लव पोखरा निलो र नक्साल युवा मण्डलले प्रतिस्पर्धा गरेका थिए। २ सयौं खेलमा सहाराले खेलाडीहरुलाई मायाको चिनो प्रदान गरेको थियो।
आहा रारा गोल्डकपको इतिहासको २००औं खेलसम्म आइपुग्दा पोखरा रंगशालाको फुटबल स्टेडियममा ७ सय १४ गोल भएका छन्। प्रतियोगिताको चौथो संस्करणको आहा रारा गोल्डकपको ११ वटा खेलमा ६१ गोल भएको रेकर्ड छ।
११ खेलमध्ये तीनवटा खेलको नतिजा टाइब्रेकरमा भएको थियो। सातौं आहा राराको फाइनल खेलमा विभागीय टिम नेपाल पुलिसले नेपाल आर्मीविरुद्ध सर्वाधिक ५ गोल गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो।

प्रतिक्रिया