ad ad

खेल


पलेशा र एरिकालाई बागमती प्रदेश सरकारको सम्मान

पलेशालाई १० लाख र एरिकालाई ५ लाख प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा
पलेशा र एरिकालाई बागमती प्रदेश सरकारको सम्मान

नेपालखबर
असोज ३, २०८१ बिहिबार १३:२२, काठमाडौँ

पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धन र एसियाली खेलकुद की रजत पदक‌ विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ।

हेटौँडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र कराँतेको प्रदेश संघलाई नगदसहित सम्मान गरिएको हो।

पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ, तेक्वान्दो र कराँतेको प्रदेश संघलाई समान एक-एक लाख रुपैयाँ प्रदान गरिने मुख्यमन्त्री लामाले घोषणा गरे। 

एसियन च्याम्पियनसिपमा भाग लिन एरिका र प्रशिक्षक श्रेष्ठ चीनको हाङजाउमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन्। एरिकाको‌ उनकी आमा रत्न गुरुङले सम्मान ग्रहण गरेकी थिइन्।

सोही अवसरमा एसियाडमा करातेका व्यवस्थापक निवास गोपाल वैध र पारा ओलिम्पिक्सका तेक्वान्दोका व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।

उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सम्मान गरेका हुन्।

कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो। 

पलेशाले हेटौँडामा भएको कार्यक्रममा आफूलाई पेरिसबाट फर्केकै दिनको जसतो झल्को आएको बताइन् । 

नयाँ पुस्तालाई तमाम समस्याकाबीचमा‌ पनि सफल हुने सम्भावना छ भन्ने उदाहरण आफूले प्रस्तुत गरेको र भविष्यमा सफलताका लागि सबैको सहयोगको अपेक्षा राखेको उनको भनाई छ।

मुख्यमन्त्री लामाले पलेशा र एरिकालाई बधाई दिदै भविष्यमा थप सफलताको शुभकामना दिए। 

खेलकुदले आफ्नोपनको भावना सृजना गर्नुका साथै देशलाई चिनाउन सक्ने भएकाले बागमती प्रदेशले भविष्यमा खेलकुदलाई विकास गर्दै लाने योजना बनाएको उनले बताए। 

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्न नीतिगत रुपमा स्पष्ट गर्ने तयारी भइरहेको‌ जानकारी दिए।

यसै महिना भएको पेरिस पारालिम्पिक्समा पलेशाले पारा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्। 

ओलम्पिकर पारालिम्पिक्समा पदक जित्ने पलेशा पहिलो नेपाली खेलाडी हुन्।

एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियामा रजत पदक जितेकी थिइन्। एसियाडमा कराँतेलाई पदक दिलाउने एरिका पहिलो नेपाली खेलाडी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .