ad ad

खेल


भारतबिना पहिलोपटक साफ यू–२० को फाइनल, तेस्रोपटक उपाधि जित्ने दाउमा नेपाल

भारतबिना पहिलोपटक साफ यू–२० को फाइनल, तेस्रोपटक उपाधि जित्ने दाउमा नेपाल

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १९:२६, काठमाडौँ

नेपालको युवा टोली घरेलु मैदानमा भएको साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बुधबार बंगलादेशलाई हराउँदै लामो समयदेखिको उपाधि खडेरी तोड्न चाहन्छ। 

दक्षिण एशियाली फुटबलमा विभिन्न उमेरसमूहका पछिल्ला पाँच प्रतियोगितामा नेपाल दुई पटकको च्याम्पियन टोली हो।

नेपालले सन् २०१५ मा भएको पहिलो उमेरसमूहको प्रतियोगिता (यु–१९) र सन् २०१७ को यु–१८ साफको उपाधि जितेको थियो। तीबाहेक अन्य तीन प्रतियोगितामा भने नेपाल फाइनलमा नै पुग्न असफल रह्यो।

तर यसपटक घरेलु मैदानमा जारी यू–२० साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुग्दा तेस्रो उपाधि जित्ने लक्ष्यमा छ। यो उपाधि जित्दै कुशल देउवाको कप्तानीमा रहेको नेपाली युवा टोली ६ वर्षदेखिको प्रतीक्षामा सफलता प्राप्त गर्न चाहन्छ।

साफमा दबदबा बनाउँदै आएको भारतबिना पहिलोपटक फाइनल हुँदैछ। यसको फाइदा लिने लक्ष्यमा नेपाल हुनेछ। त्यसका लागि नेपालले सन्तुलित फुटबल खेल्दै आएको बंगलादेशको चुनौती पार गर्नुपर्नेछ।

यसै प्रतियोगिताको समूहमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो। सोही नतिजाले नेपाली खेलाडीका लागि आत्मबल प्राप्त हुनेछ।

नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले बंगलादेशसँग यसअघि नै समूहचरणमा पनि खेलिसकेकाले उनीहरूका बारेमा राम्रो जानकारी रहेको उल्लेख गरे। 

सोहीअनरूप रणनीति बनाएर उत्रने उनको भनाइ छ। त्यो नतिजा हाम्रो पक्षमा आएको थियो। यद्यपि, उनले यस अघिको नतिजाले खासै फरक नपर्ने र आफ्ना रणनीतिअनुरूप खेल्ने टोलीले फाइनलमा राम्रो नतिजा ल्याउने बताए।

लगातार वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशाला योग्य हुन सकेन। यसैले यसअघिका अधिकांश खेल सातदोबाटोको टर्फ मैदानमा नै भयो। जहाँ नेपाली युवा टोलीले करिब ४५ दिन तयारी गरेको थियो।

यही स्थानमा फाइनल हुनु आफूहरूका लागि फाइदा मिल्ने प्रशिक्षक श्रेष्ठको विश्वास छ।

तर एन्फामा घरेलु समर्थकको राम्रो साथ नपाएकाले त्यसको कमी हुने प्रशिक्षक श्रेष्ठको भनाइ छ। नेपालले समूहचरण र नकआउटमा गरी तीन गोल मात्र गरेको छ।

पछिल्ला तीन खेलमा कयैन अवसर सिर्जना गरे पनि नेपालको फरवार्ड लाइन त्यति प्रभावकारी हुन सकेको छैन। यद्यपि, यो युवा टोलीमा राष्ट्रिय टोलीबाटै खेलिसकेका समीर तामाङजस्ता स्ट्राइकर पनि छन्। 

भुटानविरुद्धको सेमिफाइनलमा नेपालको मिडफिल्ड र फरवार्ड लाइनबीच तालमेलको अभाव पनि देखिएको थियो।

त्यसले गर्दा नेपालले जित निकाल्न पेनाल्टी सुटआउटसम्म संघर्ष गर्नुपर्‍यो। नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले अहिलेसम्म तयारीअनुरूप प्रदर्शन हुन नसकेको स्वीकार गरे।

यद्यपि, फाइनलमा अपेक्षा पूरा हुने उनको आशा छ। कप्तान कुशल देउवाले पनि यसअघि केही कुरामा आफ्नो टोली चुकिरहेको उल्लेख गरे। तर फाइनलमा सुधार हुने उनले विश्वास व्यक्त गरे।

नेपालका प्रशिक्षक उर्जनले भारतजस्तो टोलीलाई हराएर फाइनलमा आएकाले बंगलादेश निकै बलियो टोली रहेको बताएका छन्। उनले भारत, बंगलादेश, भुटान र नेपाल गरी चार वटै टोली फाइनलका लागि योग्य रहेको उल्लेख गर्दै फाइनलमा पुग्ने दुवै टोली एकअर्काका लागि सहज नहुने उनको भनाइ छ।

त्यसैले फाइनलमा जसले राम्रो खेल्न सक्छ त्यसको पक्षमा नतिवा आउने उनले स्पष्ट पारेका छन्।

कप्तान कुशलले आफ्नो टोली फाइनलका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताए। अहिले आफ्नो टोलीले योजनाअनुरूप काम गरिरहेको कुशल बताउँछन्। 

बंगलादेश पनि उमेरसमूहका पछिल्ला पाँच प्रतियोगितामध्ये तीन पटक उपविजेतामा नै सीमित हुनुपरेको छ। पछिल्लो साफ यू–२० च्याम्पियनसिपमा पनि बंगलादेश फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो। यसपल्ट सेमिफाइनलमा नै भारतमाथि बदला लिँदै बंगलादेश फाइनलमा पुगेको छ।

त्यो पनि नियमित कप्तान तथा गोलकिपर मेहदी हसन ६९ औँ घाइते भएर बाहिरिएपछि बंगलादेशले सफलता पाएको हो।

चोटका कारण नियमित कप्तान तथा गोलकिपर मेहदी हसनले फाइनलमा खेल्ने छैनन्। तर उनको विकल्पमा पनि टोलीले राम्रो खेल्ने बंगलादेशका प्रशिक्षक मरुफुल हकको विश्वास छ। उनले पछिल्लो समूहचरणको खेलले कुनै अर्थ नराख्ने र फाइनलका दुवै टोलीका लागि नयाँ दिन र नयाँ खेल हुने स्पष्ट पारेका छन्।

त्यसमाथि पनि आफ्नो टोली राम्रो लयमा रहेको उनको विश्वास छ। तर नेपाल पनि धेरै बलियो टोली रहेको र त्यसमाथि नेपाली खेलाडी यो मैदान र हावापानीमा अभ्यस्त रहेकाले नेपालसँग खेल्ने सहज नहुने उनले बताए।  

नेपालका खेलाडीलाई यो मैदानमा खेल्न सहज हुनेछ। तर प्रशिक्षक मरुफुलले बंगलादेशले आफ्नो रणनीतिअनुरूप खेल्ने र सफलता प्राप्त गर्ने दाबी गरे। 

बंगलादेशका कप्तान मोहम्मद असरफुल आसिफले नेपाल धेरै बलियो टोली रहेको र घरेलु टोलीमा तिव्र गतिका विङ्गर रहेकाले केही कठिनाइ हुने बताए।

तर उनीहरूलाई रोक्ने रणनीतिसहित आफ्नो टोली फाइनलमा उत्रने उनको विश्वास छ।

नियमित कप्तान हसन घाइते भएपछि उपकप्तान आसिफले फाइनलमा बंगलादेशको कप्तानी गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .