साफ यू–२० च्याम्पियनसिपमा समूह ए को विजेताको रुपमा नेपाल समुह विजेता बन्दै सेमिफाइनल पुगेपछि टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफूहरू आक्रामक रणनितिमा नै मैदान उत्रेको बताए।
आफूहरू आफ्नो रणनितिमा सफल भएको भन्दै प्रशिक्षक श्रेष्ठले आजको खेलमा देखिएको कमजोरीलाई सुधार गर्दै अर्को खेलमा ध्यान दिने बताए।
सेमिफाइनलमा जुन टोली आएपछि आफूहरू उपाधि जित्ने लक्ष्यमा रहेको बताउँदै त्यही अनुसार खेल्ने उनको भनाइ थियो।
बंगलादेशलाई बराबरीको नतिजा पर्याप्त भएपनि नेपाली युवा टोली जितका लागि नै खेलेको बताए। सुरुवातमा बंगदादेशले केही दबाब दिएपनि दोस्रो हाफमा रणनिति परिवर्तन गर्दै खेल आफूहरूको पक्षमा राख्न सफल भएको बताए।
टोलीका कप्तान कुशल देउवाले सेमिफाइनलमा जुन टोली आएपनि आफूहरू मानसिक रुपमा तयार रहेको बताए। उनले भने, ‘मलाई टोलीमा विश्वास छ, हामी अझै राम्रो गर्न सक्छौँ भन्ने।’
आजको नतिजाबाट खुसी रहेकाले अबको सबै ध्यान अर्को खेलमा रहेको उनको भनाइ थियो। सेमिफाइनलमा राम्रो नतिजा ल्याएर फाइनल जित्ने योजानमा रहेकाले सोही अनुसार नै खेल्ने बताएका छन्।
समूह चरणको अन्तिम खेलमा बिहिबार नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै समुह विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० गोल अन्तरले हराएको थियो।
पराजित भएपनि बंगलादेश भने समुह उपविजेता बन्दै सेमिफाइनल खेल्नेछ। शुक्रबार हुने समूह बी को खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ।
समूह बी को अन्तिम खेलमा शुक्रबार भारत र मालदिभ्स खेल्नेछन्। समूह बी मा रहेका भारत र मालदिभ्ससँगै भुटानको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ।
Shares

प्रतिक्रिया