खेल


चिनियाँ फुटबल संघका पूर्वउपाध्यक्ष लीलाई भ्रष्टाचार मुद्दामा ११ वर्षको जेल सजाय

चिनियाँ फुटबल संघका पूर्वउपाध्यक्ष लीलाई भ्रष्टाचार मुद्दामा ११ वर्षको जेल सजाय

नेपालखबर
भदौ ४, २०८१ मंगलबार ६:४८, बेइजिङ

चीनको एक अदालतले सोमबार देशको फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको कसुरमा ११ वर्षको जेल सजाय सुनाएको छ।

चिनियाँ फुटबल संघ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो।

उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ।

सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर भएका थिए। 

लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए। त्यसअघि उनी सांघाईको खेलकुद प्रशासनको प्रमुख थिए। 

राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन्। 

सी आफ्नो देशले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका र खेलजगत्‌लाई सुधार गर्न त्यहाँ हुने अनियमितताको अन्त्य गर्न चाहन्छन्। 

तर त्यो महत्त्वाकांक्षा पटकपटकका भ्रष्टाचारका काण्ड र वर्षौंदेखिको निराशाजनक नतिजापछि पहिलेभन्दा अझ टाढा देखिन्छ।

गत मार्चमा सीएफएका पूर्वप्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको कसुरमा आजीवन कारावासको सजाय सुनाइएको थियो।

सोही महिना चीनको राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घुस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको कुरा स्वीकार गरेका थिए। 

गत मे महिनामा चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’का पूर्व निर्देशक गौ झोङवेनविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको थियो। यसरी हेर्दा हालैका महिनाहरूमा सीएफएका करिब १० उच्च अधिकारी अनुसन्धानको दायरामा आएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad