खेल


६ वर्षपछि राष्ट्रिय प्रतियोगिताको तयारीमा क्यान

६ वर्षपछि राष्ट्रिय प्रतियोगिताको तयारीमा क्यान

यज्ञराज जोशी
फागुन १३, २०७६ मंगलबार १३:४३,

६ वर्षपछि नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको तयारी थालेको छ। पछिल्लो पटक क्यानको आयोजनामा सन् २०१४ मा राष्ट्रिय प्रतियोगिता भएको थियो। त्यसपछि एकैपटक क्यानले आगामी चैतदेखि जेठसम्म पुरुष तथा महिलाका राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।

‘घरेलु क्रिकेट विकासका लागि राष्ट्रिय प्रतियोगिता अनिवार्य सर्त हो,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘यही चैतबाट जेठसम्म पुरुष तथा महिलाका राष्ट्रिय प्रतियोगिताको आन्तरिक तयारी थालेका छौं।’

सन् २०१४ मा भएको प्रतियोगितामा तत्कालीन क्यानका ९ क्षेत्रले सहभागिता जनाएका थिए। तर, बंगलादेशमा सम्पन्न टी–२० विश्वकप खेलेर आएका तत्कालीन कप्तान पारस खड्कासहित राष्ट्रिय टोलीले क्यानको सुदृढ व्यवस्थापन तथा खेलाडीहरुको सुविधाको माग गर्दै उक्त प्रतियोगिता बहिष्कार गरेका थिए।

लगत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) ले क्यानलाई दिने अनुदान रकम रोकेपछि उसले कुनैपनि घरेलु प्रतियोगिता सञ्चालन गर्न सकेन। आन्तरिक किचलो र सरकारी हस्तक्षेपलाई मुख्य कारण देखाउँदै आइसीसीले २०१६ अप्रिलमा क्यानलाई नै निलम्बन गर्‍यो।

त्यसपछि नेपालमा हुने सम्पूर्ण घरेलु प्रतियोगिता ठप्प भए। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नुपर्दा सबै क्षेत्रबाट २–२ खेलाडी बोलाउँदै बन्द प्रशिक्षण राखिन्थ्यो। र, त्यसैबाट नेपाली टोली तयार पारिन्थ्यो।

तर, चारवर्ष बढी क्यान निलम्बनमा रहँदा निजी क्षेत्रबाट हुने टी–२० प्रतियोगिता र राष्ट्रिय खेलकुद प्रतियोगिताले वर्षमा एउटा एकदिवसीय प्रतियोगिता आयोजना गथ्र्यो। त्यसैबाट नेपाली क्रिकेटरले एक्सोजर पाइरहेका थिए।

गत असोज दोस्रो साता क्यानले नयाँ नेतृत्व पाएसँगै आइसीसीले क्यानलाई लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। अध्यक्षमा प्यानलसहित जित हात पारेका अध्यक्ष चन्दले घरेलु प्रतियोगिता नयाँ कार्यसमितिको प्राथमिकतामा रहेको बताउँदै आएका थिए।

राखेपले यसअघि गर्दै आएको प्रधानमन्त्री कपलाई पहिलो राष्ट्रिय प्रतियोगिताका रुपमा आयोजना गर्न लागेको हो। पुरुषको प्रतियोगिता काठमाडौंमा र महिलाको प्रतियोगिता काठमाडौंबाहिर गर्ने प्रस्तावमा छलफल भइरहेको अध्यक्ष चन्दले बताए।

फागुन ३० सम्म महिलाको जिल्ला टिम तयार गर्ने, चैत १५ देखि २२ सम्म प्रादेशिक र चैत २६ देखि वैशाख ५ सम्म महिलाको राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रस्ताव क्यानले राखेको छ। महिला क्रिकेट टी–२० फम्र्याटको हुनेछ।

महिला प्रतियोगिता प्रदेश ५ मा गर्ने भनेपनि कहाँ गर्ने टुंगो लागेको छैन। दाङको लमही वा भैरहवामध्ये एक ठाउँमा प्रतियोगिता हुने सम्भावना छ।

जिल्ला क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैँयाले आफूहरुलाई अनौपचारिक रुपमा प्रस्ताव आएपनि औपचारिक तयारीको प्रस्ताव भने आइनसकेको बताए।

चन्दले भने एक दुई दिनमै जिल्लालाई चिठ्ठी पठाउन लागिएको बताए। ‘यसपटक प्राविधिक कारणले जिल्ला छनोट नभएपनि प्रदेशमा भने छनोट सञ्चालन गर्दै राष्ट्रिय लिग हुनेछ। एक–दुई दिनमा जिल्लालाई टिम तयार पार्न चिठ्ठी जान्छ। उनीहरुलाई टिम तयारी खर्च दिइनेछ,’ अध्यक्ष चन्दले भने।

यस्तै पुरुषको जिल्ला प्रतियोगिता चैत २० सम्म सक्ने, प्रादेशिक प्रतियोगिता चैत २२ देखि वैशाख १२ सम्म र वैशाख २० देखि जेठ १५ सम्म राष्ट्रिय प्रतियोगिता आयोजनाको तयारी भइरहेको अध्यक्ष चन्दले बताए।

क्यानका कोषाध्यक्ष रोशन सिंहका अनुसार काठमाडौंमा हुने एक दिवसीय पुरुष प्रतियोगिता कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ। त्यसमा लागि सात प्रदेश र तीन विभागका टोलीबीच प्रतिस्पर्धा गराइनेछ।

सिंहले प्रतियोगिताका लागि प्रायोजक जुटाउने कार्य भइरहेको बताए। ‘हामीले राखेपसँग पनि प्रस्ताव गरिसकेका छौं। केही प्रायोजकहरुसँग कुरा भइरहेको छ,’ क्यानका आर्थिक समिति संयोजक समेत रहेका सिंहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad