प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।
आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले नेपाली टोलीबाट ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमासमेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको दाबी गरेका छन्।
‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ,’ प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु।’
Shares
प्रतिक्रिया