ad ad

खेल


विश्वकपमा नेपालको पहिलो नजर सुपर ८ मा, कमजोर छैनन् प्रतिस्पर्धी

विश्वकपमा नेपालको पहिलो नजर सुपर ८ मा, कमजोर छैनन् प्रतिस्पर्धी

आईसीसी टी२०आई विश्वकप खेल्ने नेपाली टोली। तस्बिर : नेपाल क्रिकेट संघ (क्यान)


नेपालखबर
जेठ १९, २०८१ शनिबार १०:२०, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको समूह ‘डी’मा रहेको नेपालले आगामी जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दै छ।

सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको नेपाली टोली दोस्रो पटक विश्वकप खेल्नलागेको हो। 

विश्वकपको तयारीका लागि १५ सदस्यीय नेपाली टोली अहिले अमेरिकामा छ। नेपालले विश्वकपको दोस्रो खेलमा ११ जुनमा अमेरिकाकै फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ। 

अमेरिकामा समूह चरणका दुई खेलपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्नेछ। वेस्ट इन्डिजमा नेपालले समूह चरणका बाँकी दुई खेल खेल्नेछ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिकासँग १४ जुनमा र १६ जुनमा बंगलादेशसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। 

विश्वकपलाई लक्षित गर्दै नेपालले वेस्ट इन्डिज र अमेरिकामा अभ्यास खेल समेत खेलेको थियो।

आईसीसीले मिलाएको क्यानडा र अमेरिकासँगको दुई वार्मअप म्याचमध्ये एउटा खेलेको र अर्को वर्षातले रद्द भएको थियो। नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि आफूहरु विश्वकपमा सहभागी हुन मात्रै नभएर केही गरेर देखाउने बताएका छन्। 

सुपर ८ मा पहिलो नजर, कस्ता छन् प्रतिस्पर्धी? 
१० वर्षपछि विश्वकपमा पुगेको नेपाली टोली समूह चरणमा कम्तीमा दुई खेल जित्दै सुपर ८ मा पुग्ने योजनामा छ। 

विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। त्यसैले नेपालको पहिलो नजर सुपर ८ मा छ। 

नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, बंगलादेश र श्रीलंका छ। यीमध्ये एसोसियट राष्ट्रका बलिया टोली नेदरल्यान्ड्स र नेपाल छन्। अन्य तीन भने टेस्ट मान्यता प्राप्त टोली हुन्। 

त्यसैले अन्य समूहको तुलनामा नेपाल कठिन समूहमा छ। आईसीसीको वरीयतामा पनि नेपाल सबैभन्दा तल्लो स्थानमा छ। तर यही कठिनाइलाई चिर्दै नेपाल सुपर ८ को ढोका खोल्न चाहन्छ। 

श्रीलंका र दक्षिण अफ्रिकासँग पहिलो टी२०आई
विश्वकपकै दौरान नेपालले श्रीलंका र दक्षिण अफ्रिकासँग पहिलोपटक टी–२० आई खेल्दै छ। बंगलादेशसँग भने नेपालले दोस्रो पटक टी२० खेल्नेछ। सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा बंगलादेशसँग ८ विकेटको पराजित भएको थियो। 

तर पछिल्लो समय बंगलादेश कमजोर टोली बन्दै गएको छ। त्यसैले नेपालले समूह चरणमा बंगलादेशलाई हराउँदै सुपर ८ यात्रा मजबुत बनाउन चाहन्छ। 

त्योअघि नेपालले समूह चरणको पहिलो खेलमा नै एसोसियटको बादशाह नेदरल्यान्ड्सलाई हराउनुपर्ने चुनौती छ। नेपाल र नेदरल्यान्ड्स पछिल्लो समय चिरपरिचित टोली हुन्।

नेपालले यसअघि घरेलु मैदानमा नामिबिया सम्मिलित टी२० त्रिकोणात्मक सिरिजमा डच टोलीलाई १ सय २० रनमा अलआउट गर्दै ६ विकेटको जित हात पारेको थियो। यद्यपि २ खेलमा भने नेपाल पराजित भएको थियो। 

श्रीलंका र दक्षिण अफ्रिकासँग पहिलो पटक भेट हुन लागेकाले अहिले नै नतिजाबारे एकीन भन्न सक्ने अवस्था छैन। यद्यपि बंगलादेश र नेदरल्यान्ड्सलाई हराए नेपालले सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाउनेछ। 

ब्याटिङमा सुधार आवश्यक 
घरेलु मैदानबाहिर नेपालको ब्याटिङ लाइन कमजोर देखिँदै आएको छ। 

त्यसका लागि शीर्षक्रमका ब्याटरदेखि नै जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। 

बलिङमा पनि डेथ ओभरमा नेपालले बढी रन खर्चिँदै आएको छ। विपक्षी खेलाडीले एक/दुई बलमा चौका र छक्का हान्नेबित्तिकै नेपाली बलर दबाबमा देखिने गरेका छन्।

त्यसलाई सुधार गर्दै खुलेर खेल्ने हो भने नेपालका लागि सुपर ८ को सम्भावना पनि त्यति कमजोर छैन।

यो पनि-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .