ad ad

खेल


क्यान अध्यक्षको स्पष्टीकरण: भिसा अप्लाई गर्नुअघि नै सन्दीपलाई टोलीमा राखिएको थियो

क्यान अध्यक्षको स्पष्टीकरण: भिसा अप्लाई गर्नुअघि नै सन्दीपलाई टोलीमा राखिएको थियो

फाइल तस्बिर : क्यान अध्यक्ष चतुरबहादुर चन्द


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १४:९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई भिसा आवेदन दिनुअघि नै आईसीसी टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गरिएको स्पष्टीकरण दिएका छन्।

दुईपटक आवेदन दिँदा पनि नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा नदिएपछि क्यानले उनलाई टोलीमै राखेको थिएन भनेर भ्रम फैलाइएको भन्दै अध्यक्ष चन्दले शुक्रबार सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेका हुन्।   

नेपाली टोलीमा रहेका १४ जनाको नाम गोप्य राखिएको र १५औँ खेलाडीका रूपमा सन्दीपको नाम समावेश गरिएको जिकिर उनले गरेका छन्। 

तर सन्दीपले भिसा नपाएको खण्डमा पहिलेकै १५ जनालाई निरन्तरता दिनेगरी आईसीसीले नेपालका लागि मात्र विशेष सुविधा दिएको र सोही आधारमा सन्दीप अमेरिका जान पाएको अवस्थामा प्रतिस्थापन हुने खेलाडीको नाम गोप्य राखिएको दाबी अध्यक्ष चन्दले छन्। 

‘भिसा अप्लाई गर्नुअघि नै क्यानले आईसीसीसँग समन्वय गरी १५औँ  खेलाडी सन्दीप लामिछाने नै हो भनी पत्राचार गरेको र आईसीसीले स्वीकृति दिई यूएस एम्बेसी, नेपाललाई सन्दीप नेपाल टिमको १५ स्क्वाड मेम्बर भएकोले भिसा उपलब्ध गराइदिन सिफारिस गरेको थियो’, चन्दले लेखेका छन्, ‘आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको थियो कि कुनै कारणले सन्दीपले भिसा नपाएको खण्डमा  उनको सट्टामा खेलाडी परिवर्तन गर्न मिल्ने  थियो। त्यसकारण १४ जनाको नाम (गोप्य)+सन्दीपलाई समावेश गरिएको थियो।’

अन्य देशले भने मे २५ मै १५ खेलाडीको अन्तिम नामावली बुझाइसकेको उनको भनाइ छ। 

उनले लेखेका छन्, ‘तर नेपालको हाल विश्वकप स्क्वाड यूएसएमा रहेका १५ जनामध्ये सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन टिम म्यानेजमेन्टले यो परिपक्व निर्णय गरेको थियो। सन्दीपले कसलाई विस्थापन गर्न सक्थ्यो भन्ने यहाँहरूले अन्दाज मात्र गर्न सक्नुहुन्छ, पुष्टि गर्न सक्नुहुन्न।’

उनले सबैको भावनाबमोजिम गरिएको निर्णयलाई मसला बनाएर सस्तो लोकप्रियता नबटुल्न चेतावनी पनि दिएका छन्। सन्दीपलाई टोलीमा राखिएकै थिएन भनेर क्यान र यसका केही पदाधिकारीलाई केही कथित पत्रकार र खेलकुदमा राजनीति मात्र गर्ने संस्थाले कपोलकल्पित भ्रम फैलाएको आरोप उनले लगाएका छन्। 

‘सन्दीप १५औँ खेलाडीको रूपमा आईसीसीमा दर्ता थियो। यूएस एम्बेसी (अमेरिकी दूतावास) लाई क्यान र आईसीसीको पत्रमार्फत सबै जानकारी गराएको थियो’, उनले अगाडि भनेका छन्, ‘क्रिकेट संघले सतर्कताका साथ गोप्य राख्नुपर्ने विषयलाई प्रोपोगन्डा बनाई कमजोरीको रूपमा व्यख्या नगरिदिन हुन अनुरोध। तसर्थ झुटो र अन्दाजी कुरा गरेर क्रिकेटप्रेमीहरूलाई भ्रममा नपारौँ।’

अध्यक्ष चन्दले सार्वजनिक गरेको पत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .