खेल


अन्तर्राष्ट्रिय मान्यता गुमाउने सँघारमा दशरथ रंगशाला, एएफसीको निरीक्षणमा पुगेन मापदण्ड

यूएईसँग घरेलु मैदानमा नहुने, तटस्थ रंगशालाबारे अन्योलमा एन्फा
अन्तर्राष्ट्रिय मान्यता गुमाउने सँघारमा दशरथ रंगशाला, एएफसीको निरीक्षणमा पुगेन मापदण्ड

लक्ष्मी जि.सी
बैशाख २५, २०८१ मंगलबार ९:४६, काठमाडौँ

नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा ‘फेल’ भएको छ। 

यही वैशाख २१ र २२ गते एएफसीका प्रतिनिधिले गरेको निरीक्षणमा अन्तर्राष्ट्रियस्तरको रंगशालाका लागि आवश्यक मापदण्ड पूरा हुन नसकेको देखिएको हो। 

निरीक्षणमा फ्लडलाइट १२ सय लक्स हुनुपर्नेमा करिब ७ सय लक्स मात्रै रहेको प्रतिवेदन भारतीय म्याच कमिसनर सुब्रदले बुझाएका छन्। 

सोही प्रतिवेदनमा रंगशालाको सेफ्टी सर्टिफिकेट पनि अहिलेसम्म नआइपुगेको उल्लेख गरिएको छ। फ्लडलाइट मात्र नभई एएफसीले मैदान, सुरक्षा र प्रशिक्षण मैदानका लागि आवश्यक मापदण्ड पूरा हुन नसकेको बताएको छ। 

एएफसीका प्रतिनिधिलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन आर्मी फुटबल क्लबको मैदान र च्यासल मैदान प्रशिक्षणका लागि देखाएको थियो। तर ती मैदानमा पनि एएफसीले मापदण्ड नपुगेको औँल्याएको छ।

स्रोतका अनुसार एएफसीका प्रतिनिधि टोलीले दशरथ रगंशालाको मैदानको अवस्था पहिलेभन्दा सुधारिए पनि विश्वकप छनोटका लागि यूएईसँगको खेल गर्न नसकिने निष्कर्ष निकालेको छ। 

योसँगै अब यूएईसँगको खेल घरेलु मैदानमा नहुने पक्का भएको छ। अर्को खेल आयोजना गर्नका लागि पनि एन्फाले अहिले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ।

यूएईविरुद्धको खेल घरेलु मैदानमा नहुने भएपछि एन्फा तटस्थ मैदान कहाँ छान्ने अलमलमा छ। 

क्लब च्याम्पियनसिप खेल्न नपाउने डर, के भन्छ एन्फा? 
मापदण्डकै कारण नेपालका क्लबले एएफसी क्लब च्याम्पियनसिप समेत खेल्न नपाउने डर बढेको छ।

नेपालका विभागीयबाहेक अन्य क्लबसँग आफ्नै मैदान छैन। उनीहरुले अहिलेसम्म दशरथ रंगशालालाई नै आफ्नो मैदान देखाउँदै आएका थिए। 

मैदानले अन्तर्राष्ट्रिय मान्यता गुमाउने डर बढ्दै गर्दा एन्फा महासचिव किरण राई अबको ८÷१० दिनमा केही निष्कर्ष आउने बताउँछन्। 

उनले भने, ‘निरीक्षणमा आएको टोली रंगशालाको अवस्थासँग सन्तुष्ट छैनन्, त्यसको बारेमा छलफल चलिरहेको छ।’

अब राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गरेर अघि बढ्ने उनले बताए। 

यसअघिको बहराइनविरुद्धको फिफा विश्वकप छनोट खेल पनि नेपालले उसकै मैदानमा खेल्नुपरेको थियो। घरेलु मैदानमा हुने खेल पनि नभएको भन्दै राखेपले मैदान हेरचाहको जिम्मेवारी एन्फाबाट खोसेको थियो। 

एन्फा प्रवक्ता सुरेश शाहले अहिले एएफसीले फ्लड लाइट र अन्य प्राविधिक विषयमा प्रश्नहरु उठाएको बताए। यही विषयलाई आधार मानेर एन्फाले राखेपसँग समन्वय गरिरहेको उनको भनाइ छ। 

एएफसीले दिएको सुझावको आधारमा आफूहरुले छलफल गरिरहेको शाहले बताए। 

एएफसीको मापदण्ड पूरा हुन नसके देशको एकमात्र अन्तर्राष्ट्रिस्तरको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय खेल खेलाउने अवसर गुमाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .